Logo
Logo

सडकमा भेटिएका दुई बंगलादेशी चार्टर्ड फ्लाइटमार्फत फकाइँदै


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, ८ पुस । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बंगलादेशी नागरिकलाई बुधबार स्वदेश फर्काइने भएको छ ।
सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बंगलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो । पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बंगलादेशका राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिए । उनीहरूलाई चार्टर्ड फ्लाइटमार्फत घरमा पुनर्मिलन गराउन लागिएको उनले जानकारी दिए ।
चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकोको थियो । हातको घाउ कुहिएर किरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुस्किल थियो । विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ । बाबुलाललाई लम्जुङको सडकमा अर्धचेत अवस्थामा फेला पािरएको थियो । अहिले उनी पनि स्वस्थ भएका छन् । बुधबार उनलाई परिवारमा पुनर्मिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्तासँगै जाँदै छन् ।
उनीहरुलाई मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले विदाई गरिसकेका छन् । आश्रमले यसअघि पनि तीन बंगलादेशी नागरिकलाई परिवारमा पुनर्मिलन गरिसकेको छ । हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ । अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन् ।

प्रतिक्रिया दिनुहोस्