Logo
Logo

ओलीको केन्द्रीय सदस्य पद अस्वीकार गर्ने बढ्दै


- दृष्टि न्युज/संवाददाता

2.2k
Shares

काठमाडौं, ८ पुस ।
केपी शर्मा ओलीले एकपक्षीय रुपमा विस्तार गरेको केन्द्रीय कमिटीका केन्द्रीय सदस्यहरुले पद अस्वीकार गर्न थालेका छन् ।
प्रदेश १ सरकारको समाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र प्रदेश सांसद गोपाल बुढाथोकीले नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् ।

मंगलबार ओली समूहले थप गरेको केन्द्र्रीय सदस्यहरुको नामावलीमा आफुहरुलाई जानकारी नै नदिई नाम राखेको भन्दै उनीहरुले पद आफुहरुलाई स्वीकार्य नभएको बताएका हुन् ।

प्रम ओलीको गृह जिल्ला झापाको विर्तामोड घर भएकी राज्यमन्त्री गजमेरले बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै भनेकी छन ,‘विश्वास र भरोसासाथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन ।’

यसैगरि मंगलबार साँझ फेसबुकमै स्टाटस लेख्दै ओलीको गृहनगर झापा मेची नगरका प्रदेश सांसद गोपाल बुढाथोकीले आफुलाई विभाजित कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य मञ्जुर नभएको बताएका छन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहासबाट पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् । जनतालाई धरधरी रुवाएर परिवारभन्दा पनि बढी माया गरेको पार्टी विभाजन गराए हामी यो बेला दुःख ब्यत्त गर्न रमिते हुनबाहेक के पो गर्न सक्नेरहेछौँ र ? मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पद मन्जुर छैन ।’

राज्य मन्त्री गजमेर र बुढाथोकी दुवै पार्टी एकता अगाडीदेखि नै पूर्वएमालेमा रहँदा माधव नेपाल समूहमा थिए ।

कतिपय पूर्व माओवादी नेतालाई पनि उनले मनोनयन गरेका छन् । उनीहरुले पनि अस्वीकार गरेका छन् । आफ्नो शक्ति आँकलन गर्न आजै सातै प्रदेशमा आफु निकट केन्द्रीय सदस्यहरुको भेला र प्रशिक्षण दिन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्