Logo
Logo

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश नं १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने÷ गाभिने (मर्जर) सम्बन्धी अन्तिम समझौतापत्रमा शुक्रबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ ।

मर्जर हुने यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरका संस्था हुन् । २०७७ साउन ३२ गते दुई संस्थाबीच मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई २०७७ कात्तिक १९ गते राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भई २०७७ पुस १० मा मर्जर गर्ने सम्बन्धी अन्तिम समझौता भएको हो ।

उक्त सम्झौतामा एनआइसी एशियाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तको तर्फबाट अध्यक्ष लालमणि जोेशीले हस्ताक्षर गरेका छन् । एनआइसी एशिया लघुवित्तको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लामा समेत गरी कूल १२० शाखा सञ्चालनमा छ भने स्वदेशी लघुवित्तको नेपालभरि ८५ शाखा सञ्चालनमा छन् । मर्जरपश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ ।

मर्जरसम्बन्धी सम्पूर्ण काम सम्पन्न गरी मर्जरपश्चात् एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको एक सबल, सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआइसी एशिया लघुवित्त वित्तीयले वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहीअनुरुप काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्