काठमाडौं, १५ पुस ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो पुष्पकमल दाहाललाई व्यक्तिगत रुपमा उत्रिएर गाली गरे । सुदुरपश्चिम क्षेत्रका कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले जति धुँधा पनि प्रचण्डलाई सफा बनाउन नसकेकोदेखि छोरीलाई मेयर बनाउन मतपत्र च्याँतेकोसम्मका आरोप लगाए ।
उनै ओलीले साँझ प्रचण्डलाई फोन गरेर प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका छन् । बुधबार साँझ उनले प्रचण्डलाई फोन गरेको ओलीको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या बढेपछि सीता बुधबार अस्पताल भर्ना भएकी छिन् । सीतालाई भेट्न ओली निकट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल लगायत अस्पताल नै पुगेका थिए । ओलीकै निर्देशनमा उनीहरु अस्पताल पुगेको स्रोत बताउँछ । ओलीको शैली देखेर कार्यकर्ता नै चकित बनेका छन् ।
बुधबार एक कार्यक्रममा बोल्दै प्रचण्डले श्रीमतीले आफुलाई जिन्दगीभर सेवा गरेको र उनलाई आफुले अब सेवा गर्ने बताएका थिए ।