Logo
Logo

शेरधनलाई संसदीय दलको नेताबाट हटाइयो, शंकर पोखरेल सुरक्षित ?


- दृष्टि न्युज/संवाददाता

1.5k
Shares

काठमाडौं, १६ पुस ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपाको संसदीय दलको नेताबाट हटाइएको छ । पार्टीका बहुमत सदस्यले उनलाई हटाएर भिम आचार्यलाई संसदीय दलको नेता छानेका छन् ।


पार्टीभित्रको विवादपछि प्रचण्ड–माधव नेपाल पक्षले राईलाई संसदीय दलको नेताबाट हटाएका हुन् । राईविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता भइसकेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसदमध्ये ३७ जनाले उनलाई हटाउने पक्षमा हस्ताक्षर गरेका छन् । राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपनि प्रचण्ड–नेपाल पक्षसँग नयाँ सरकार बनाउन बहुमत भने छैन ।
उता लुम्बिनी प्रदेशको सरकार भने तत्काल नढल्ने देखिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–नेपाल पक्षका सांसदहरुलाई समेत आफ्नो पक्षमा पार्न सफल भएपछि त्यहाँ अविश्वासको प्रस्ताव तत्कालका लागि टरेको छ ।

चार दिनदेखि मुख्यमन्त्री पोखरेल बुटवल र विभिन्न जिल्ला पुगेर प्रदेशसभा सदस्यसँग भेटघाट गरिरहेका छन् । अहिले मुख्यमन्त्रीको समर्थनमा पूर्वएमालेका ३९ र पूर्वमाओवादीका एक सदस्य खुलेका छन् । सरकार जोगाउन थप चार मत मात्र आवश्यक छ ।

 

सरकारको संकट टार्न काठमाडौंबाट फर्केपछि मुख्यमन्त्री पोखरेलले दुई दिन नेकपाका नेता–कार्यकर्ता भेटघाटमै बिताए । उनले आइतबार सरकारमा रहेका दाहाल–नेपाल समूहका मन्त्रीलाई भेटेर अविश्वासको प्रस्ताव ल्याउने भए मन्त्रीबाट राजीनामा दिन निर्देशन दिए । दाहाल–नेपालमा खुलेर लागेका दुई मन्त्रीले तत्काल त्यस्तो सम्भावना नरहेको जनाएपछि सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
नेकपाको कलहपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । गण्डकी र कर्णालीको सरकार समेत संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्