काठमाडौं, १६ पुस । पुसको मध्यान्हमा काठमाडौँको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै बिहीबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए । ‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ’, मौसमविद् प्रधानांगले बताए ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।