काठमाडौं, १७ पुस ।
काठमाडौंको एक खतरनाक लुटेरा समूह पक्राउ परेको छ । मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने कपन बस्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ र सहकारीका कागजात तथा चेकबुक लुटेर फरार रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २७ कमलाक्षी असन वतन भई भुरुङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका २६ नरदेबी घर भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेबी वतन भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेबी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका २ वतन भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् ।
उक्त नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफे नजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाईते बनाई, डर धाक धम्की दिई लुटपाट गरी फरार रहेका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी चलिरहेको गाडीबाट बिभिन्न सर सामानहरु पटक पटक चोरी गरेको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ ।