काठमाडौं, २१ पुस । नेपालमा उपभोक्तालाई कसरी ठगी हुन्छ भन्ने कुराको उदारण गत साता देखियो । गत सोमबार नेपाल प्रहरीका ९ एसएसपीको डिआईजीमा बढुवा सिफारिस भयो । बढुवा सिफारिस भइसकेपछि बढुवा पक्का हुन्छ जसकारण सिफारिस भएलगत्तै खुशी मनाउने चलन हुन्छ ।
बढुवा भएकामध्ये एक डा देवबहादुर बोहरा सिफारिसको सूची सार्वजनिक हुँदा कार्यालयबाट घर पुगेका थिए । परिवारले उनलाई बधाई दिए । खुशी साट्ने क्रममा स्वभाविक रुपमा लड्डुको माग हुन्छ । बोहराले आफ्ना चालकलाई कमलपोखरीको आँगन रेस्टुरेन्टमा लड्डु किन्न पठाएँ ।
लड्डु ल्याएर सुरुमा चालकलाई नै खान दिएँ । चालकले लडुडु चपाए । तर, धेरै बेरसम्म चपाउँदा पनि टुक्रा नभएपछि शंका लागेर हातमा निकाल्दा नङको टुक्रा फेला प¥यो । त्यस नङले डिआइजी बढुवाको खुशीयाली एकाएक फिक्का भयो । लड्डुमा नङ भेटिएपछि त्यो खाने कुरा भएन ।
एसएसपी बोहराले तत्कालै काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहलाई फोन गरेर पसलमा छापा हान्न लगाए । कमलपोखरी वृत्तको टोली मिठाइ पसलमा पुग्यो । तर, यससम्बन्धि छानबिन र कारबाहीको अधिकार प्रहरीको नभएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जानकारी गराइयो । विभागले आएर निरीक्षण गर्दा सढेगलेको पिठोबाट मिठाई बनाउने गरेको खुल्यो । त्यो पिठो नष्ट गर्न लगाइयो र नमूना लियो । अहिले पनि त्यो मिठाइपसल चलिरहेकै छ । कुहिएको पिठोबाट बनेको मिठाई बिक्रि भइरहेको छ ।
यो घटनाले नेपालमा उपभोक्ताहरु कति निरीह छन् भन्ने प्रष्ट हुन्छ । लड्डुमा मिठाई भेटिएको र कुहिएको पिठो प्रयोग हुने प्रष्ट हुँदा समेत त्यस्तो पसल निर्वाध रुपमा सञ्चालन गर्न दिइएको छ । नमुनाको रिपोर्ट नआएको भन्दै कारबाही समेत भएको छैन । ५÷१० हजार रुपैयाँ जरिवाना गरेर आँगन स्वीट्सलाई उन्मुक्ति दिने खेल भइरहेको छ ।