काठमाडौं, २३ पुस ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएको भए पार्टी एकता जोगिने बताएका छन् । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनु नै उत्तम विकल्प रहेकोमा प्रतिनिधिसभा बिघटन गर्नु गलत भएको बताएका हुन् ।
बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गरे ।
यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको स्मरण गर्दै उनले भने, यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन ।’
आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो ।’
गौतम दुवै समूहमा नलागी पार्टी एकताकै पक्षमा रहेको बताउँदै आएका छन् ।