काठमाडौं, २३ पुस । राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको अपनमान भएको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन जनमतको अपमान भएको भन्दै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन् ।
सांसद कोमल वलीले संयुक्त राज्य अमेरिकाको संसद् भवनमा भएको हमलाप्रति दुःख व्यक्त गर्दै यसले विश्वकै प्रजातन्त्रमाथिको खतरा उत्पन्न भएको धारणा व्यक्त गरेका छन् ।
सांसद जीवन बुढाले गत भदौमा कालीकोटमा बाढी र पहिरामा एक हजार १०० परिवार विस्थापन भएको र हालसम्म पनि पुनःस्थापना हुन नसक्दा जाडोमा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद तारादेवी भट्टले उखु किसानले आफ्नो उत्पादनको मूल्य पाउन पनि सधँै आन्दोलन गर्नुपर्ने समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसप्रति सरकारलाई जवाफदेही हुन आग्रह गरे ।