सिरहा, २६ पुस ।
नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको राजनीतिमा कौरवका भाइ दुर्योधन भएको टिप्पणी गरेका छन् ।
शनिबार सिराहामा जय गोविन्द साहको ३१ औं स्मृतिसभामा बोल्दै अध्यक्ष नेपालले ओलीकै कारण नेकपा र देशको यस्तो अवस्था आएको बताए। ओली झूट, अहंकार, घमण्डको दोस्रो नाम भएको नता नेपालको भनाई थियो ।
‘केपी ओली दुर्योधनजस्तै हुन्, ’ उनले भने, ’युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ तर दुर्योधनको शासन भएपछि पूरा वंशकै नाश हुन्छ। केपी ओलीमा भष्मासुर प्रवृत्ति हो, कहिले कसलाई भष्म गर्छन् थाहा छैन।’
‘डोनाल्ड ट्रम्प चुनाव हारेपछि सत्ता कब्जा गर्न खोजेपछि उनीमाथि महाअभियोग लाग्ने भयो त्यस्तै ओलीले संसद विघटन गरेका छन्,’ उनले अगाडि भने, ’संसद विघटन गरेपछि उनी पनि कामचलाउ सरकार हो। कुन दिन उनी झर्छन् कसैलाई थाहा छैन।’ केपी ओली पार्टीको नेता हुने लायक नरहेको उनको जिकिर छ। देशलाई अगाडि बढाउन समझदार व्यक्तिको आवश्यकता रहेकोले ओलीको पछाडि नलाग्न उनले आग्रह गरे ।