Logo
Logo

स्वदेश फर्किएर उद्यम गर्दै हुनुहुन्छ ? सरकारले राष्ट्रिय पुरस्कारबाट सम्मान गर्दैछ


- दृष्टि न्युज/संवाददाता

504
Shares

काठमाडौं, ४ माघ । संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्केर नेपालमै उत्कृष्ट उद्यम गरिरहेका युवालाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  वैदेशिक रोजगारीबाट फर्केर नेपालमै उद्यम गरिरहेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार, २०७७ ले सम्मान गर्ने भएको हो ।

त्यसका लागि देशभरका सबै स्थानीय तहलाई पत्र लेख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहयोग मागेको छ ।  मन्त्रालयको स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माका अनुसार आवेदकले १९ माघभित्रमा आवेदन दिइसक्नुपर्नेछ । श्रम मन्त्रालयले २८ पुसमा २१ दिने म्याद दिएर राष्ट्रिय पुरस्कारका लागि आवेदन दिन वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरेका उद्यमीहरूलाई आह्वान गरेको थियो ।

मन्त्रालयका अनुसार नेपाली नागरिक, श्रमिक भिसामा विदेशमा गई कम्तीमा १ वर्ष काम गरी फर्किएको र विगत ५ वर्षभित्र श्रम मन्त्रालयबाट कुनै पनि पुरस्कार प्राप्त नगरेको व्यक्तिले राष्ट्रिय पुरस्कारका लागि आवेदन दिन सक्नेछन् । आवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसासहितको राहदानीको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष ०७६/०७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासमेत संलग्न राख्नुपर्ने मन्त्रालयले जनाएको छ । आवेदन फाराम र सोसम्बन्धी कार्यविधि मन्त्रालयको वेबसाइट www.moless.gov.npबाट डाउनलोड गर्न सकिनेछ । आवेदन मन्त्रालयको रोजगार समन्वय सूचना शाखामा सिधै  [email protected] मा पठाउन सकिने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्