काठमाडौं, ५ माघ । माओवादी जनयुद्धले गणतन्त्रको नारा स्थापित गर्यो । शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि माओवादीले संसदीय राजनीति सुरु गर्यो । संसद पुनस्थापनासँगै अन्तरिम संसद गठन भयो र अन्तरिम संसदले अन्तरिम संविधान बनायो । अन्तरिम संविधान लेखिदा संघीयताको मुद्दा अटाउन सकेन । त्यसपछि मधेसमा संघीयताका लागि आन्दोलन सुरुयो । संघीयताको जननी आन्दोलनको रुपमा मानिएको मधेस आन्दोलनमा धेरैले बलिदान गरे । उनै बलिदानीहरु मध्ये पहिलो सपूत हुन– रमेश महतो । सिरहाको लहानमा ०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा विद्यार्थी रमेश महतो शहीद भए । उनको सम्झना र सम्मानमा माघ ५ गते ‘बलिदान दिवस’ मनाइन्छ ।
को हुन् शहीद रमेश महतो ?
स्वर्गीय रमेश महतो सिरहा नवराजपुर गाँउपालिका वडा नम्बर ३ स्थित मझौराका हुन् । गाउँमै रहेको आधारभुत जनता माध्यमिक विद्यालय, जगतपुरबाट कक्षा ८ सम्म अध्ययन गरी थप अध्ययन गर्न लहान पुगेका थिए । त्यहाँको मनोकामना ईंग्लिस बोर्डिंग स्कुलमा अध्ययनरत महतोले ९ कक्षा उत्तीर्ण गरि १० कक्षामा नामाकांन गराएर एसएलसीको तयारीमा लागेका थिए । तर एसएलसी दिन नपाउँदै उनको निधन भयो । १६ वर्षको उमेरमा उनी मारिए ।
कसरी सुरु भयो बलिदानी दिवस ?
प्रथम मधेश आन्दोलनको उद्गमस्थल लहान थियो, जहाँ १६ वर्षे कलिला युवा रमेश महतोले ०६३ साल माघ ५ गते शहादत प्राप्त गरेका थिए । १० वर्षे जनयुद्ध तथा ५ दलहरुसँग मिलेर गरिएको जनआन्दोलन पश्चात तत्कालीन नेकपा माओवादीले संघीयता छाड्दै अंगीकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति असन्तुष्टि जनाउदैँ तत्कालिन मधेशी जनअधिकार फोरमको नेतृत्वमा प्रथम आन्दोलनको शुरुवात भएको थियो । त्यो आन्दोलनको उद्गमस्थल सिरहाको लहान बनेको थियो । सोही सिलसिलामा महतोले शहादत प्राप्त गरेका थिए । मधेश केन्द्रित दलले ऐतिहासिक मधेश आन्दोलनको पहिलो शहीद रमेश महतोलाई मान्दै आएका छन् । विगत १२ वर्षदेखि १६ वर्षीय रमेश महतोको मृत्यु भएको दिन माघ ५ लाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।
२०६३ सालमा सुरु भएको प्रथम मधेस आन्दोलनका क्रममा सिरहाका रमेश महतो, प्रमोद सदाय, बेचन यादव, विजय कुमार सहनी, मोहम्मद अनिस लगायत देशभरका ५४ जनाले मधेस मुक्तिका लागि भन्दै बलिदानी दिएका थिए । प्रथम मधेस आन्दोलनबाट उठान भएको मुद्दा पूर्णरुपेण प्राप्त नभएपछि २०७२ मा भएको दोस्रो मधेस आन्दोलनमा ५६ जनाले ज्यान गुमाए भने तेस्रो २०७३/२०७४ मा ७ जना सहित अहिलेसम्म १ सय १७ जनाले मधेसमा बलिदानी दिइसकेका छन् । तर, अहिले पनि मधेशका लागि शहीद भएका १ सय १७ परिवारको अवस्था उस्तै छ । न संघीय सरकार न त प्रदेश सरकारको नै ध्यान जान सकेको छ ।
यसैबीच, प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । ‘बलिदानी दिवस’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । ३ वर्षदेखि माघ ५ गतेलाई प्रदेश सरकारले बिदा दिँदै आएको छ । पहिलो शहीद महतोको सम्झनामा बलिदानी दिवस मनाइँदै आएको छ । दिवसका दिन प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम भने आयोजना गरेको छैन ।
विभिन्न चरणमा भएका राजनीतिक संघर्षहरुमा बलिदान गरेका शहीदहरुको सम्झना र सम्मानमा सार्वजनिक विदा दिने चलन त छ । तर, उनै शहीदहरुको बलिदानको कदर गर्ने परम्परा नै बस्न सकेन । वर्षमा एक पटक सम्झने र अरु बेला बिर्सने गलत अभ्यासले शहीदकै अपमान हुन्छ । शहीदप्रति सम्मान छ भने उनीहरुले देखाएको बाटो कसैले पनि बिराउनु हुँदैन । शहीद रमेश महतो सहित सबै शहीदप्रति हार्दिक श्रद्धासुमन !