काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
काठमाडौंमा आज बिहान भएको एक कार्यक्रममा बोल्दै डा. भट्टराईले कांग्रेस र नेकपाका प्रचण्ड-माधव समूहलाई संयुक्त रूपमा आन्दोलनमा आउन आग्रह गरेका हुन् । केपी ओलीको प्रतिगमन विरुद्ध जसपा आन्दोलनमा रहेको बताउँदै उनले कांग्रेसले ढुलमुले नीति छोडोस् र प्रचण्ड-नेपाल समूहले कित्ता क्लियर गरेर संयुक्त आन्दोलनमा आउन आग्रह गरे ।
कांग्रेसले ढुलमुले नीति देखाएको टिप्पणी गर्दै डा. भट्टराईले भने, ‘नेपाली कांग्रेसले चुनाव भइहाल्छ। लोकतान्त्रिक पार्टी चुनावबाट कहाँ भाग्ने ? भनिरहेको छ। यो चुनाव हुनेवाला छैन। चुनावबाट केही प्राप्त हुनेवाला छैन, पहिले संविधान ट्याकमा ल्याउनुपर्यो।’
कार्यक्रममा उनले भने, ‘संयुक्त आन्दोलन गरौं, ‘प्रचण्ड-माधव समूहले अझै केपी ओलीलाई बोक्ने ? कारवाही नगर्ने ? यसले त आशंका निम्त्याउँछ।’ उनले भने । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पनि प्रचण्ड-माधवले कारवाही नगरेकोले आशंका पैदा भएको उनको भएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।
‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ? तपाईंहरूले कित्ता क्लियर गर्नुस्। तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ,’ भट्टराईले भने।
कार्यक्रमा उनले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएकोले शान्तिपूर्ण आन्दोलनमा आफूहरू लागिपरेको बताए । तर, अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले चेतावनीसमेत दिए ।
‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं। बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने ? उनले प्रश्न गरे । बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं। त्यस्तो स्थिति नआओस्,’ उनले भने । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संयुक्त रूपमा दलहरू आन्दोलनमा जानुपर्ने भट्टराईले बताएका छन् ।