Logo
Logo

‘नागरिक एप’मा बढ्दो क्रेज, दुई लाख ३८ हजारले गरे डाउनलोड


- दृष्टि न्युज/संवाददाता

882
Shares

काठमाडौं, ५ माघ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण बढ्दै गएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको एपमा आज (सोमबार) उपराह्न ४ बजेसम्म दुई लाख ३८ हजार ८ सय ६ जना प्रयोगकर्ताले डाउनलोड गरेसँगै एपप्रति आकर्षण बढ्दै गएको देखिएको हो ।


राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ६३ हजार ५ सय ८० जना प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका छन् । धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भएता पनि विभिन्न कारणले गर्दा एक लाख ७५ हजार २ सय २७ जना प्रयोगकर्ताको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिमकार्ड नहुनु तथा गृह मन्त्रालयको तथ्याङ्कअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो ।
केन्द्रको तथ्याङ्कअनुसार प्रमाणीकरण भएका ६३ हजार बढी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै प्रयोगकर्ताले नागरिकता नम्बर प्रमाणीकरण गरेका छन् । हालसम्म ४६ हजार प्रयोगकर्ताले नागरिकता प्रमाणीकरण गरेको, २३ हजार ३ सय २२ जनाले राहदानी, १९ हजार ८ सय ८० जनाले मतदाता नामावली र २८ हजार ६ सय ३४ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् । यसैगरी १४ हजार १ सय ८८ जनाले एसएलसीको प्रमाणपत्र र ६ हजार १ सय ११ जनाले उच्च शिक्षाको प्रमाणपत्र प्रमाणीकरण गरिसकेका छन् । तीन जनाले लोकसेवा, दुई हजार ७ सय ७३ जनाले सञ्चयकोष प्रमाणीकरण गरेका छन् । यस एपमध्येमा हालसम्म नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा प्रमाणीकरण भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्