काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नेपाली कांग्रेसले माघ १३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
यसअघि माघ ६ गतेका लागि निर्धारित बैठक देशव्यापी प्रदर्शनका कारण स्थगित भएको छ ।
केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टीभित्र देखिएको समस्या, १४ औं महाधिवेशन लगायतका बारेमा छलफल हुने भएको छ ।
कांग्रेसले बिहीबार ७५३ पालिकाका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । यसअघि कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
प्रदर्शनका कार्यक्रम अघि कांग्रेसमा देखिएको किचलोबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सोमबार साँझ छलफल भएको थियो ।
सोमबार सभापति देउवा पौडेल निवास बोहोराटार पुगेका थिए । दुई नेताबीच १४ औं महाधिवेशनको कार्यतालिका, क्रियाशिल सदस्यता वितरण लगायत समसामयीक राजनीतिका बारेमा छलफल भएको पौडेलको निजी सचिवालयले जानकारी दिएको छ ।