बागलुङ, ६ माघ । बागलुङ सुन्तलाका लागि प्रख्यात जिल्लाका रुपमा चिनिँदै आएको छ । सुन्तलाको मौसम कात्तिकबाटै शुरु हुन्छ । अधिकांशको सुन्तला बेच्ने मौसम मङ्सिर र पुस महिना हो ।
बागलुङमा अहिले झण्डै ८० प्रतिशत सुन्तला बिक्री भइसकेको छ । तर जिल्लाको जैमिनी नगरपालिकामा उत्पादित सुन्तला अझै बिक्री भइनसकेको किसानको गुनासो छ ।
जैमिनी नगरपालिका–४ सर्कुवाका अमृत सुवेदीको सुन्तला बगानमा लटरम्मै सुन्तला भए पनि माघ महिनासम्म बिक्री भएको छैन । अहिलेसम्म बोटबाट टिपेर सक्नुपर्ने सुन्तला यो वर्ष कोरोना महामारीका कारण खरीद गर्ने बगैँचासम्म आइनसकेको किसानको भनाइ छ ।
“हाम्रो बगैँचामा एक हजार सुन्तलाका बोट छन् । तीमध्ये आधा बोटले सुन्तला उत्पादन दिँदै आएको छ”, किसान सुवेदीले भन्नुभयो, “अहिलेसम्म सुन्तला बिक्री भएको छैन, नारायणगढको व्यापारी मङ्सिर महिनाभित्रै बगान खाली गर्नेगरी कुरा भए पनि हालसम्म सुन्तला बोटमै छ ।”
यो वर्ष सुवेदीलाई कोरोनाले मात्र होइन, सुन्तला फुल्ने समयमा परेको भारी वर्षाले पनि मारमा पा¥यो । सेतै फूलेका सुन्तलाका बोटबाट असारदेखि साउन महिनासम्म निरन्तर परेको झरिले आधाभन्दा बढी सुन्तला फुलमै झरें । अघिल्लो वर्ष सुवेदीले रु आठ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । यो वर्ष ठ्याक्कै रु तीन लाख घाटा हुने अवस्था देखिएको छ ।
सुवेदी मात्रै होइन, बागलुङका धेरै किसान सुन्तलाबाट कमाइ राम्रो नभएको बताएका छन् । सुन्तला टिप्नुपर्ने समयमा टिप्न नसक्दा अर्को वर्षमासमेत सुन्तला कम फल्ने कृषि प्राविधिकले बताउँदै आएका छन् । फूल खेल्ने समय हुनै लाग्दा बोटमै सुन्तला रहँदा सुवेदी चिन्तित हुनुभएको छ । सुवेदी मात्रै होइन सुन्तला गाउँका रुपमा रहेको सिगनाका कृषक रामबहादुर खड्का, भरत जिसी लगायतको सुन्तला बोटमै छन् ।
सिगानाका किसान अनन्तबहादुर खड्काले बोटबाट समयमै सुन्तला नटिप्दा यो वर्ष रु तीन लाख घटा लागेको बताए । अर्को वर्ष सुन्तलाको बोटले कम उत्पादन दिने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानु भट्टराईले बताए । यसवर्ष सुन्तलाको बाटमा औंशे कीराको प्रकोप, सुन्तलाको दाना सानो लागेका कारण सुन्तला उत्पादनमा कमी आएर घाटा भएको सुन्तला किसान शिव खड्काले बताए ।
जैमिनी नगरपालिकामा अघिल्लो वर्ष ४५ टन सुन्तला बिक्री भएको थियो । यस्तै सिगानामा रु दुई करोडका सुन्तला बिक्री भएका थिए । यो वर्ष करीब ५० टन सुन्तला बिक्री गरिएको जैमिनी सुन्तला ब्लकका अध्यक्ष खगेश्वर शर्मा सुवेदीले बताए ।