काठमाडौं, ८ माघ । कोभिड-१९ विरुद्धकाे खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । बिहीबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत समकक्षी मोदीलाई धन्यवाद दिएका हुन् ।
ओलीले बिहीबार आफ्नो अफिसियल ट्वीटर ह्यान्डलबाट भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै लेखेका छन्,- ‘आफ्नै नागरिकलाई भ्याक्सिन लगाउन सुरु गरेको भारतले यस्तो संकटपूर्ण घडीमा नेपाललाई गरेको सहयोगप्रति हामी धन्यवाद दिन चाहन्छौं । छिमेकी मित्र हुनुको दायित्व गरेकोमा पनि ओलीले मोदीको प्रशंसा गरेका छन् ।’
भारतले १० लाख डोज कोभिडविरुद्धको खोप नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिकरुपमा हस्तान्तरण गरे । उक्त अवसरमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी पनि सहभागि थिए ।