Logo
Logo

नेपाल इन्भेष्टमेण्ट बैंकको ३४ औं साधारणसभा सम्पन्न, १८.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले १८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको माघ ८ गते बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न भएको ३४औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

उक्त साधारणसभामा अध्यक्षता गरेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिने घोषणा गरेका हुन् ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअलरुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारणसभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिका बारेमा छलफल भएको थियो ।

यसैगरी, बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभा प्रयोजनका लागि बैंककले पुस २२ गतेदेखि बुक क्लोज गरेको थियो । यसअनुसार पुस २१ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

यस वर्ष बैंकले ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १५२ अर्ब रूपैयाँबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १२७ अर्ब रुपैयाँबाट वृद्धि भई १४१ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्