काठमाडौं, ९ माघ । नेकपा प्रचण्ड-माधव समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । नेकपाको बृहत विरोध प्रदर्शनले रत्नपार्क, पुतलीसडक, न्युरोडलगायत अहिले उपत्यकाका मुख्य स्थान ट्राफिक व्यवस्थापन प्रभावित भएको हो ।
उपत्यकाको विभिन्न नौ स्थानबाट र्याली निकालिएको छ । ति स्थानमा ठुला सवारी साधन छिर्न दिइएको छैन । उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसमा जुलुसका कारण सवारी आवागमन ठप्प भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले र्याली र सभा हुने स्थानमा चल्ने सार्वजनिक सवारी साधन रोकिएको जानकारी दिए । नेकपाले आज एक लाख मानिस उतार्ने दावी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले लगातार आन्दोलन गर्दै आएको छ । आजको विरोध कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका बरिष्ठ नेताहरु सहभागी हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।