रुपन्देही, १० माघ । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा जारी छ ।
अन्तरप्रदेश सम्बन्ध विस्तारका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयस्तरीय अन्तरक्रिया गर्न थालिएको हो ।
सबै प्रदेशबीचको सहकार्य, समन्वय र सहअस्तित्व कायम गर्ने कार्यक्रमले उद्देश्य राखेको छ । कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्कमत कार्की, प्रदेश २ का ज्ञानेन्द्रकुमार यादव, गण्डकी प्रदेशका हरिबहादुर चुमान, लुम्बिनी प्रदेशका कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रकाशबहादुर शाह सहभागी छन् ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले राजीनामा दिइसकेका कारण सो मन्त्रालय मुख्यमन्त्री डोरमणि पौडेलले नै हेरेका छन् । कार्यक्रममा बागमती प्रदेशबाट मन्त्रीको सहभागिता छैन । कार्यक्रम सुरु गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीयतालाई बलियो बनाउन प्रदेशहरुलाई स्थापित गर्नुपर्ने बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्र, प्रहरी प्रशासन गठनमा संघीय सरकारले लिएको नीतिप्रति असन्तुष्टि राख्दै आएका छन् ।