बागलुङ, ११ माघ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गराउने प्रक्रिया थालिएको छ ।
हालै निर्माण गरिएको झोलुङ्गे पुल ५६७ मिटर लामो रहेको छ । विश्वकै लामो दावी गरिएको यो पुलले बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्छ ।
कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो ।पुल गत माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ ।
सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रले हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै रहेकाले यो नै विश्वको लामो झोलुङ्गे पुल हुन सक्ने बताए ।
यद्यपि विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुलको विवरणका विषयमा भने प्राविधिकहरु जानकार छैनन् ।
पुल बागलुङ नगरपालिकालाई हस्तान्तरण भएर आइसकेपछि यसलाई विश्व रेडर्क कायम राख्ने प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रक्रियाका लागि निवेदन दिइसकेको र थप प्रक्रिया अघि बढ्ने भएको छ ।
निवेदनपश्चात विश्व रेकर्डको कार्यालयले छानविन गर्नेछ । झण्डै रु १२ करोड लागतमा बनेको उक्त पुल १३८ मिटर अग्लो रहेको छ । पुल निर्माण शुरु भएको दुई वर्षमै सकिएको थियो ।