रामेछाप, ११ माघ । बलात्कारको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्ष भरतबहादुर बोहरा पक्राउ परेका छन् ।
एक महिलाले आफूलाई वडाध्यक्ष बोहराले बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई रामेछापबाट पक्राउ गरेको हो । पीडित महिलाले भक्तपुरको ठिमीस्थित आफ्नै डेरामा १० दिनअघि बोहराले बलात्कार गरेको उजुरी दिएकी थिइन ।
उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।
बोहरालाई जबर्जस्ती करणीको मुद्दा दायर गरिएको छ । अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिने महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।