कञ्चनपूर, ११ माघ । कञ्चनपूरको भीमदत्त नगरपालिकाले ‘महाकाली बहुप्राविधिक शिक्षालय’ सञ्चालनका लागि कानून बनाएको छ ।
भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो ।
भीमदत्तले महाकाली अस्पतालसँगको साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अनुमति दिइसकेको छ । आठौँ नगरसभामा पुस २८ गते विधेयक पेश गरिएको थियो । शुक्रबार विधेयकमाथि दफावार छलफल भएर पारित गरिएको नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले जानकारी दिए । उनले भने– ‘अब महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि चाहिने कानून नै बनेको छ, त्यसका आधारमा शिक्षालय स्थापना र सञ्चालन प्रक्रिया अघि बढ्छ’ ।
नगरसभाबाट शिक्षालय सञ्चालनसहित अन्य विधेयक पनि पारित भएका छन । भीमदत्त नगरपालिकाको सुशासन समिति गठन तथा सञ्चालन विधेयक–२०७७, लेखा समिति गठन तथा सञ्चालन नियमावली–२०७७, वन ऐन–२०७७ र विधायन समिति गठन तथा सञ्चालन विधेयक–२०७७ पारित गरिएको छ ।