काठमाडौं, ११ माघ । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा थप नौ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको संख्या ३२७ पुगेको प्रेस संयोजक, कोभिड–१९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली सङ्घका संयोजक चिरन शर्माले जानकारी दिए ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५३ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित हुने गरेको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सापकोटाले जानकारी दिए ।
सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार संक्रमणमुक्त हुने आँकलन गरिएको डा. सापकोटाले बताए । स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसके पनि नेपाललगायतका नेपाली भएका कैयौँ मुलुकमा खोप अभियान शुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ९९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार १८० जना छन् भने दुई लाख ६३ हजार ७३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।