Logo
Logo

बाढीपहिराको उच्च जोखिममा तनहुँ


- दृष्टि न्युज/संवाददाता

441
Shares

तनहुँ, ११ माघ । यस वर्षको बाढीपहिराका कारण तनहुँमा १४ जनाको मृत्यु भयो । गत असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिराका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भयो ।

बाढीपहिरोका कारण जिल्लाका दशवटै स्थानीय तहमा थुप्रै घरमा क्षति पुग्यो । त्यसमध्ये २ सय ४७ घर भत्किएर बस्न नमिल्ने भयो । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार भीमाद नगरपालिकामा २९, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा १८, शुक्लागण्डकी नगरपालिकामा २१, भानु नगरपालिकामा ३२, आँबुखैरेनी गाउँपालिकामा छ, बन्दीपुर गाउँपालिकामा १३, म्याग्दे गाउँपालिकामा ४१, ब्यास नगरपालिकामा ७७ र ऋषिङ गाउँपालिकामा दुई घरमा पूर्ण क्षति भयो ।

फाइल फाेटाे

जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको तनहुँको विपद् प्रतिकार्य योजना २०७७ अनुसार जिल्लाका अधिकांश स्थानीय तह बाढीपहिराको उच्च जोखिममा देखिएका छन् । स्थानीयस्तरमा हुने विकास आयोजना तथा ठूला पूर्वाधारका आयोजना निर्माण र विकासको चरणमा सम्भाव्य विपद्को अवस्था र त्यसबाट पुग्न सक्ने सम्भाव्य क्षतिलाई विचार गरी विपद् व्यवस्थापनलाई मूल प्रवाहीकरण गर्न सकेमा विपद्को जोखिम न्यूनीकरण गर्न सकिने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

दश स्थानीय तहमा हेलिप्याड

जिल्लाका दश वटै स्थानीय तहमा विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि विभिन्न वडामा हेलिप्याड निर्माण गरिएको छ । ठूलो विपद्को घटना भएमा जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रजिअ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्