लण्डन, ११ माघ (एजेन्सी) । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दा सम्बोधनका लागि दुई देशबीच सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउनेबारे सहमत भएका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुई नेताबीच पहिलो पटक भएको कुराकानीमा यस्तो सहमति जुटेको हो ।
बेलायती प्रधानमन्त्री जोन्सनले बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हालेकामा बधाई दिँदै दुई देशबीचको प्रगाढ सम्बन्धलाई थप उचाईमा पु–याउन कुनै कसर बाँकी नराखिने बताएका छन् । बेलायती अखबारहरुले बाइडेन आफैले फोन सम्पर्क गरेको जनाउँदै अमेरिकी राष्ट्रपतिबाट कल पाउने युरोपका नेता भएको दावी गरेका छन् । बाइडेनले यसअघि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडो र मेक्सिकोका राष्ट्रपतिसँग कुराकानी गरको थिए ।
यसअघि सन् २०१९ मा राष्ट्रपति बाइडेनले चुनावी प्रचारका क्रममा जोन्सनमाथि व्यंग्य गर्दै उनी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको छायाँको रुपमा रहेको बताएका थिए । फोनवार्तामा प्रधानमन्त्री जोन्सनले दुई देशबीचको व्यापार विषयमा उत्पन्न गतिरोध जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री जोन्सनले जलवायु सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा अमेरिकाको पुनः प्रवेशका लागि बाइडेनले लिएको निर्णय निकै सकारात्मक भन्दै प्रशंसा पनि गरेका छन् ।