सिद्धार्थका चेलाजस्तो
एक धरो गेरुवस्त्र बेरेर होइन,
लिङ्कनका जोधाहा शत्रुका कात्रोजस्तो
टाइसुटमा ठाँटिएर तिमी
विश्वविद्यालय जाने अरे, ब्रदर !
रात-रातभरि
साकिराहरूको उत्तेजित धुन
र, माइलीहरूको ‘पोल डान्स’ पढेर
अनिद्राका रोगी ती आँखा भनिरहेछन्–
ब्राण्डेड सपनाका झोलाभरि
उत्तरआधुनिक भ्रमैभ्रमका ठेली कोचेर
कुन विद्वता हासिल गर्ने हो ?
कुनचाहिँ विद्वता ?
कुनचाहिँ विश्वविद्यालय ?
विश्वविद्यालय ? (-is the university ?)
ती त–
तेस्रो विश्वका सुलभ फोटोकपी सेन्टर हुन्,
उर्बर दिमागलाई,
फोटोकपी मेसिनमा ढालिन्छ त्यहाँ,
मलामी जान सिकाइन्छ
जन्मन बाँकी आफ्नै भविष्यको
तर सिकाइदैन
वर्तमानको विगुल फुक्ने कला !
त्यहाँ त–
बधित हुनेछ तिमीभित्रको भिन्ची
निलम्बित हुनेछ तिम्रो आइन्स्टान-गिदी
छैटौँ इन्द्रिय चल्दा तिमी पागल भनिनेछौ,
प्रमिथसको फिलिङ्गोभन्दा
चम्किलो तिम्रो दृष्टि
धमिरे ग्रन्थका काला अक्षरमा निभ्नेछ,
कपासको फूलभन्दा हलुङ्गो तिम्रो उत्साह
टेष्टट्युबको पिँधमा जम्नेछ
तिम्रो स्वर्णिम युवावय
बेन्चभरि/ट्वाइलेटका भित्ताभरि
‘स्त्री’ नाउँ लेख्दैमा पहेँलिनेछ !
सर्टिफिकेटको बेसक्याम्प हुँदै
डिग्रीको सुली चढुन्जेल
तिम्रो तालु फुल्न थाल्नेछ, ब्रदर
तिमीले बिर्सिसकेका हुनेछौ–
बाबुले कनिकुथि सिकाइदिएको ‘हलो–संघर्ष’
बाजेले भकारी बुनेको ‘चोया–कला’
बराजुले खँलाती फुकेको ‘आरन–उद्योग’
भुलिसकेका हुनेछौ–
घट्ट, कोल, जाँतो, गबुआ, भैँसी, मदानी…
जीवनहरूको जीवन्त सङ्गीत !
फोटोकपी सेन्टरबाट तिमी पुनः जाने ठाउँ
उही खिया लागेको कोदालोजस्तो समाज हो,
‘शैक्षिक बेरोजगार’को उपाधिधारी
तिम्रो १२ ग्रामको मथिङ्गलमा थिच्दै जानेछ
व्यावहारिकताको पतझर पहाडले
ब्रदर, तिमीलाई लाग्नेछ–
गर्दनमाथि बाँझो पृथिबी बोक्नुभन्दा
आत्महत्या पो बहादुरी हो कि !
अन्ततः तिमीसामु दुइटा बाटा हुनेछन्–
पहिलो,
अरबको कुखुरा फार्म पुगिनेछ
र, दोस्रो चाहिँ
आत्महत्याको जङ्गल !
साह्रै चिन्तित छु ब्रदर,
तिम्रो अन्तिम योग्यता कुनचाहिँ होला !?
(नयाँ पत्रिकाबाट साभार)