तिमीले भन्ने गथ्र्यौ आमा ! सन्तान कोखीको घाउ हो तर अहिले म अनुभव गरिरहेकी छु आमा त मुटुको घाउ रहेछ ! प्रत्येक स्वास–प्रस्वाससँगै दुखिरहने । कोखीको घाउ त उठ्दा–बस्दा अझ घच्याकघुचुक हुँदा मात्र दुख्छ । त्यो घाउ बिग्रियो नै भने पनि कोखै झिकेर फालिदिएर पनि बाँच्न सकिन्छ तर मुटुको घाउ जति दुखे पनि त्यसलाई झिकेर फाल्न सकिँदैन ।
मुटु र जीवन एकअर्काका परिपूरक ! मुटु घाइते भएपछि पीडालाई आत्मसात् गर्दै जीवनको अन्तिम गन्तव्यसम्मको यात्रा गर्नुको विकल्प हुँदोरहेनछ । हो, आमा ! जब तिमीले यस दुनियाँबाट मौन प्रस्थान गर्यौ, त्यही दिनदेखि नै म आफ्नो मुटु घाइते भएको अनुभूत गरिरहेकी छु । त्यही दिन, त्यही क्षणदेखि त हो नि म अनवरत दुखिरहेकी छु व्यक्त र अव्यक्त पीडाहरूसँगै । लाख प्रयास गर्छु त्यो पीडामा मलम लगाउन तर अहँ ! घाउ त झनै बल्झेर दुख्छ, दुखिरहेछ र दुखि नै रहनेछ ।
आमा ! तिमीले जन्माएका केही सन्तानले अल्पायुमैं तिमीलाई छाडी गएको पीडामा सायद भनेकी हौली सन्तान कोखीको घाउ हो । तिम्रो घाउ त त्यतिबेला पुरियो होला जब तिम्रो कोख पुनः भरियो ! जति सन्तान तिमीले गुमायौ त्योभन्दा बढी सन्तानको पुनः प्राप्तिमा तिमी त भरिपूर्ण भएकी थियौ तर जब तिमी मलाई छाडेर अनन्तको यात्रामा लाग्यौ म खाली भएँ, एकदम रित्तो । त्यो रित्तो खाडललाई भर्ने कुनै बुटी, कुनै तागत सायद यो सृष्टिमा छैन ! त्यसैले होला अचेल म मुटुको हरेक धड्कनमा अनुभव गर्दछु त केवल दुखाइ, र यही दुखाइ नै अब मेरो नियति हो ।
हो, आमा ! तिमीले सदाका लागि छाडिगएपछिको यो दुखाइ मेरो नियति यसर्थ हो कि म पनि आमा हुँ कुनै छोरीकी । मेरो अवसानपछि यही पीडा, यही रिक्तता र यस्तै मुटु चस्कने नियति मेरी छोरीले भोग्नेछ ! आमा र छोरी उही कथा, उस्तै ब्यथा, भोगाइका उनै शृङ्खला, अनगिन्ती पीडा लुकाएर अभिनयको हाँसोमा अरूको खुसी सम्हालिदिनुपर्ने अनौठो दायित्वको एकात्मकता ! भिन्नता छ त केवल समय र परिवेशको । मलाई थाहा थियो र थाहा छ, तिम्रो त्यो यात्रा अपरिहार्य थियो, कुनै न कुनै दिन तिमीले जानु नै थियो । त्यसैले तिमी गयौ तर मेरो त्यो जीवनदर्शन, त्यो शाश्वत चिन्तन मातृत्वका सामु टिक्न सकेन । म अनुत्तीर्ण भएँ आपैmले लिएको आत्मपरीक्षामा र एउटा अबोध बालकसरी मातृवियोगमा आहत भइरहेकी छु पलपल ।
घडी–पला, दिन–रात हुँदै बितेको समयले बताइरहेछ दुई महिनाभन्दा बढी भइसकेको छ तिम्रो भौतिक देह दनदनी बलेको अग्निले भष्म गराइसकेको ! तर पनि मलाई लाग्छ तिमी यहीँ कहीँ छौ । आँखा वरिपरिबाट तिम्रो स्वरूप एकपलका लागि पनि अलग राख्न नसकेर, त्यो यथार्थप्रति पनि अविश्वासका साथ प्रश्न उठाउने गर्दछु— के साँच्चै आमा अब छैनन् ? के उनको स्नेही स्वर अब सुन्न पाउँदिन ? माइती पुग्दाको दिन बाटोभरि आँखा ओछ्याएर प्रतीक्षा गर्ने अब कोही छैन ? हो, उनी अब छैनन् । मैले प्रत्येक साँझ तुलसीको फेदमा उनका नाममा बाल्ने दियोको मधुरो उज्यालोले बताइरहेको छ त्यो तितो यथार्थ ! त्यसो भए अभैm पनि मलाई उनको मायालु संबोधनको आभाष किन भइरहेको छ ? उनको कमजोर शरीरलाई टेवा दिँदै टकटक बज्ने त्यही लौरोको आवाज मेरो कानमा किन गुञ्जिरहन्छ ? आमा नहुनुको यथार्थबोध गर्न मैले किन सकिरहेकी छैन ?
एकाबिहानै पूजाबाट आफ्नो दैनिकी आरम्भ गर्छु । अघिल्लो दिन भगवानलाई चढाएका पूmल बटुल्न थाल्छु । सोच्छु, हिजो मात्र टिपेर चढाएका ताजा पूmलहरू आजै ओइलाएछन् । बासी भएछन्, त्यसैले तिनलाई हटाएर नयाँ ताजा पूmलहरू चढाउनुपर्दछ । जब ती बासी–ओइलाएका पूmलहरू अँजुलीभरि लिन्छु, आमा ! त्यसमा तिम्रै प्रतिबिम्ब पाउँछु अनि त ती पूmलहरू बिसर्जन गर्दा आँखाबाट तप्प आँसु झर्छ । यति मात्र होइन, अघिल्लो दिन ढकमक्क पूmलेका थुँगाहरू ओइलाएर भोलिपल्ट आँगनभरि झरेको देख्दा तिनमा पनि तिम्रै प्रतिरूप देख्छु । त्यसैले त अचेल म झरेका पूmल देख्नासाथ तिनलाई जतनले बटुलेर कतै बिसर्जन गरिदिन्छु । पूmल र जीवन उस्तै रहेछ आमा ! बिहान कोपिलाउने, दिउँसो फक्रेर मगमगाउने र साँझ ओइलाएर भोलिपल्ट झरिहाल्ने !
पूजा–पूmल–तुलसी र तिमी एकाकार भएभैंm लाग्छ अनि त तिम्रो सम्झनाले झनै सताउन थाल्छ । सम्झनाबाट अलगिन आफ्नो दैनिकीलाई अघि बढाउछु । भान्साका यावत वस्तुहरूमा तिमीलाई नै देख्छु । खाना पकाउँदा, खुवाउँदा र खाँदा झनै प्रबल भैदिन्छ तिम्रो सम्झना । बालापनमा तिमीले ‘को खाइ’ भन्दै खुवाएको, बुभ्mने भएपछि तिमीले पकाएको खानाको भिन्दै मिठास अभैm पनि जिब्रोमा गढेजस्तै लाग्छ । सन्तान जति नै भए पनि तिनको भिन्न–भिन्न रुचिको ख्याल गर्न सक्ने अनि सन्तानको पेट भरिँदा आपूm भोकै पनि अघाउने आदर्श रहिछौ आमा !
सात वर्षमा बिहे गरेर घरमा भित्रिएकी तिमीले सुनाएका आफ्ना कथा–ब्यथाहरू सुन्दा लाग्थ्यो कथा सुनाउदै पो छौ कि ? तर होइन, ती त तिम्रा आफ्नै भोगाइ थिए । सागरसरी तिमीले आफ्नो छातीभित्र समेटेकी थियौ सुख–दुख, हाँसो–पीडा अनि युगसापेक्ष बुहार्तन । सायद, जीवनको उत्तराद्र्धमा पुस्तान्तरका अव्यक्त पीडाहरू पनि थिए होलान् तिम्रा मौन आँखाहरूमा ! आमा, तिमी कति महान ! बालविवाह, कठोर बुहार्तन अनि लामो वैधव्यमा पनि कहिल्यै गुनासो गरिनौ । ती सबैलाई आफ्नै प्रारब्धको फल मानेर सन्तोष गरिरह्यौ । जीवनको अन्तिम घडीसम्म पनि तिम्रो आस्था, निष्ठा अनि आस्तिक चिन्तन उस्तै थियो । त्यसैले त तिमीले हिँड्दाहिँड्दै र बोल्दाबोल्दै देहत्याग गर्यौ । तिमी त सजिलै गयौ आमा तर तिम्रो अभाव र सम्झना अत्यन्त कठिन बनिरहेको छ ।
आमा ! तिम्रो सम्झना दुखमा मात्र होइन सुखमा पनि आउँछ । तिरस्कारभन्दा बढी त यसले मायामा पो सताउँदो रहेछ । जब म आफ्नी छोरीको बालसुलभ व्यवहार सम्झन्छु, ऊमाथि खनिएको आफ्नो अपार स्नेहबोध गर्दछु, म झन बढी दुख्छु किनकि, यस्तै त हुँदो हो तिम्रो र मेरो स्नेहमयी त्यो क्षण ! तिमीलाई सताउनु, दुख दिनु, हैरान भएर तिमीले गाली गर्दा घुर्की लाउँदै केहीबेर ठुस्किनु अन्ततः तिम्रै फरियाको सप्कोमा लुट्पुटिँदै रमाउनु । यस्तै त गर्छे मेरी छोरी पनि । हरेक पल अघिपछि गर्दै काखमा लुट्पुटिन खोज्छे । आफ्नो बाल्यकाल क्रमशः किशोरावस्थामा परिणत हुँदै गरेको यथार्थलाई चटक्कै बिर्सेर बालापन नै देखाउँछे । उसको यस्तो व्यवहारले यही बताउने गर्दछ, मेरो अनुपस्थितिमा उसले आपूmलाई सम्हाल्न सक्नेछैन । उसको यस्तै स्वभाव र आमाप्रतिको अतिमोहले त मलाई तिम्रो सम्झनामा झनै दुखाउने गरेको छ । यस्तै त हुँदो हो नि मेरो बालापन अनि जति खन्याए पनि नसकिने तिम्रो ममत्व ।
आमा प्रकृतिको अनुपम बरदान मात्र होइन, अतुलनीय शक्ति पनि रहेछ । त्यसैले त होला शिशुलाई एक्लै छाड्नुपर्दा आमाको कपडा ओढाउने गरिन्छ दुष्ट आत्मा र अनिष्टकारी शक्तिबाट सुरक्षाका लागि । भौतिकवादी आँखाले के भन्छ थाहा छैन तर म पनि मनन् गर्छु आमाको शरीरको गन्धमा मात्र पनि छुट्टै तागत छ किनकि, तिम्रा लुगाफाटाहरूमा म अभैm पनि बालापनको त्यही रक्षाकवचको अनुभूति गर्दछु, तिम्रो उपस्थितिबोध गर्दछु ।
मेरी छोरी जति–जति मसँग टाँसिएर मलाई माया गर्छे, मेरो काखमा उसले संसारभरिको खुसी पाएको अनुभूति सुनाउछे त्यति नै मेरो मन–मुटु कुटुकुटु खाने गर्दछ । जब उसको कुनै पीडाले रुन्चे भएको अनुहार देख्छु त्यो क्षण पनि म दुख्छु तिम्रै सम्झनामा किनकि, जसरी म उसको पीडामा दुख्छु, खुसीमा रमाउछु तिमीले पनि त्यसै गथ्र्यौ होला ! दुख–सुख, पीडा–खुसी, माया–तिरस्कार, सफलता–असफलता, पाउनु–गुमाउनु जस्ता जीवनका आरोह–अवरोहहरूमा जताततै तिमी नै तिमी छौ आमा !
बुढ्यौलीमा आमालाई बोझ ठानेर अवहेलना गर्ने मात्र होइन, पाटीबास गराउनसमेत पछि नपर्ने अनि आमाको खुसीका लागि चार पैसा खर्च गर्न नसक्ने तर सामाजिक प्रतिष्ठाका लागि लाखौँ खर्च गर्ने सन्तानहरू पनि यहीँ छन् । मुखले असाध्यै माया गर्ने, मातृत्वको बयान गरेर क्षणभरमा काव्य नै तयार पार्ने तर आमालाई सहारा दिनुपर्दा चार कदम पछि हट्नेहरूको पनि कमि छैन यहाँ किनकि, सन्तान थरिथरिका !
थाहा छैन तिनलाई त्यतिबेला कस्तो हुँदो हो जतिबेला आमा सारा मायामोहबाट बिमुख भएर अनन्त यात्राका लागि चुपचाप निस्किन्छिन् ! साँच्चै, आमा त आस्थाको त्यस्तो पर्खाल रहेछ जसको उपस्थितिबोधले मात्र पनि जीवनका हरेक पाइलामा ढाडस दिँदोरहेछ । यात्राको कुनै मोडमा जब पाइला लड्खडाउछन् उनको सम्झना मात्रले पनि पुनः अघि बढ्ने प्रेरणा दिँदोरहेछ । त्यसैले होला आमा ! अचेल मैले आपूmलाई एक्लो, रित्तो अनि सहाराहीन अवस्थामा पाएकी छु ।
दुख पर्छ कसलाई सुनाउँ ? खुसीको क्षण, सफलताको कथा अनि प्राप्तिको उमङ्ग अब कोसँग बाँड्ने ? एकदम एक्ली भएकी छु आमा यतिबेला म । तिमीलाई जानु नै थियो गयौ तर यो पापी कोरोना तिम्रो र मेरो बिचमा उभिएर तिम्रो अन्तिम दर्शन गर्नबाट मलाई वञ्चित गरायो । तिमीले पनि त अलि क्षण पर्खन सकिनौ नि आमा ! मात्र एक महिना पर्खेको भए दसैँमा तिम्रो हातको टीका र आशिर्वाद लिन जसरी पनि आइहाल्थेँ नि । तिमीलाई भेट्न जाँदा यो पापी कोरोना पनि सँगै जान्छ कि भन्दै डराएर बसेँ तर कोरोनाभन्दा पनि शक्तिशाली त दुष्ट काल पो रहेछ जसले तिमीलाई थाहै नदिई टिपेर लग्यो । त्यसैले त सदाभैmँ एकाबिहानै तिम्रो सुस्वास्थ्यको कामना गर्दै बाल्ने गरेको दियो त्यस दिन बाल्न पाइन । भगवानको चरणमा अर्पण गर्न भनी टिपेका पूmल थालीमा नै ओइलाए । मैले डालीबाट चुँडेका तिनै पूmलजस्तै तिमीलाई कालले चुँडेर लगेछ सदासदाका लागि ।
आमा ! तिमी छैनौ र पनि साथै छौ । आमा–छोरी एकअर्काबाट पृथक कसरी हुन सक्छन् र ? समयको चक्रसँगै म बिस्तारै रूपान्तरित हुनेछु तिमीमा र मेरी छोरी रूपान्तरित हुनेछे ममा । तिम्रो खुसी म, मेरो खुसी छोरी । मेरो पीडा तिमी, छोरीको पीडा म । सायद यही नै होला नियतिको सम्झौता ! तर किन किन आज मलाई विद्रोह गर्न मन लागेको छ यो सम्झौतासँग, यसरी— म छोरी हुन चाहन्नँ फेरि कुनै आमाकी र आमा पनि बन्न चाहन्नँ कुनै छोरीकी ! छोरीको जवान ओठमा लुकेका अव्यक्त दुखाइमा आमा भित्रभित्रै दुख्छे, आमाको जीर्ण अनि रुग्ण आँखामा सल्बलाएका दुखाइ र घोचाइहरूमा छोरी पनि चसचसी दुख्छे, नदेखेरै, नबोलेरै पनि आमा र छोरी एक अर्काको मनको कुना–कुना अनि नसा नसाको रक्तप्रवाहमा प्रवाहित यथार्थ अनुभूति गर्न सक्छन्, त्यसैले त उनीहरू एक अर्काका लागि दुखिरहन्छन् ! दुखिरहन्छन् !! आमा मुटुको घाउ, छोरी कोखीको घाउ अनि दुख्नु दुवैको नियति !