काठमाडौं, १३ माघ । अमेरिकी औषधि उत्पादक मोडेर्नाले नयाँ कोरोना भाइरस र अन्य संक्राममक भाइरससँग जुध्न आफ्नो कोभिड खोप उपयुक्त रहेको दाबी गरेको छ ।
प्रारम्भिक रुपमा प्रयोगशालाको वातावरणमा गरिएको परीक्षणले भाइरसका त्यस्ता भेरियन्टलाई खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने मोडर्नाको दाबी छ । उसले थप पुष्टिका लागि खोप लगाएका व्यक्तिहरुबाटै जाँच गर्नुपर्ने बताएको छ । दक्षिण अफ्रिकामा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ।
सुरुमा बेलायत र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको पहिलेको भन्दा केही घातक रहेको प्रारम्भिक अध्ययनहरूले देखाएको छ । कोभिडका नयाँ प्रकारका भाइरसहरु द्रुत गतिमा धेरै मुलुकहरुमा फैलिसकेको छ ।
भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरूप परिवर्तनले मानव कोशिकालाई महामारीको सुरुवाती समयमा भन्दा बढ्ता सङ्क्रमित पार्नसक्ने देखिएको छ। अहिले आएका खोपहरुको प्रभावकारिता पनि हेर्न थालिएको छ ।
केही सुरुवाती नतिजाका आधारमा फाइजरको खोपले बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट जोगाउने देखिएको छ ।
मोडेर्नाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले उसको खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूनालाई जाँचेका थिए।
उनीहरूको निष्कर्षको वैज्ञानिक जगतमा समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो।