Logo
Logo

गृहसचिव र डिआइजी हेरफेरको तयारी


- दृष्टि न्युज/संवाददाता

771.2k
Shares

काठमाडौं, १३ पुस । सरकारले कर्मचारीतन्त्र र प्रहरीमा व्यापक हेरफेरको तयारी थालेको छ । चुनाव हुने निश्चित नभएपनि मिति घोषणा भइसकेको र माघ १७ गतेपछि चुनावको आचारसंहिता लागू हुने भएकाले त्यसअघि नै सरुवा गर्न लागिएको छ ।

गृह मन्त्रालयको सचिवमा एक नारायण अर्याललाई ल्याउने तयारी छ । त्यस्तै, सातै प्रदेशका प्रहरी प्रमुख हेरफेरको गृहकार्य भइरहेको स्रोत बताउँछ । हाल प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा, गण्डकीमा घनश्याम अर्याल, लुम्बिनीमा रबिन्द्र धानुक, कर्णालीमा बसन्त पन्त तथा सुदुरपश्चिममा उत्तम कार्की छन् । उनीहरुमध्ये ईश्वर कार्की र रबिन्द्र धानुक कमाउने अभियानमा रहेकाले उनीहरुविरुद्ध धेरै उजुरीसमेत परेका छन् । प्रदेशमा उनीहरुको १० महिना मात्र पुगेपनि पछि चुनावको मुखमा सरुवा गर्न नमिल्ने भएकाले अहिले नै सरुवाको तयारी भएको हो ।

प्रधानमन्त्री ओलीले आफू अनुकुलका डिआइजीलाई प्रदेशमा पठाउने तयारी गरेका छन् । जसमा सहकुल थापा, अरुण बिसी, प्रकाशजंग कार्की प्रमुख दाबेदार छन् । त्यस्तै हालै बढुवा भएका पुरुषोत्तम कँडेल, गणेश ऐर, दिवेश लोहनी, डा देवबहादुर बोहरालगायत पनि प्रदेश जाने प्रतिस्पर्धामा छन् ।

त्यस्तै डिएसपीको पनि सरुवाको तयारी छ । हाल इन्चार्ज रहेका डिएसपीहरु एसपीमा बढुवा हुने भएकाले रिक्त हुने ठाउँमा सरुवाको तयारी छ । त्यस्तै, चितवनमा पनि नयाँ एसपी पठाउन लागिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले आफूले जे भन्यो त्यही मान्ने एसपीलाई चितवन पठाउन लागेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला भएकाले प्रचण्डलाई असहयोग गर्ने एसपीको खोजी भइरहेको स्रोत बताउँछ । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री तटस्थ प्रहरी अधिकृतलाई चितवन पठाउने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्