हिन्दी फिल्म ‘मुंगेरीलालके हँसिन सपने’ हेर्ने कि ‘तमासा’ ? यतिखेर नेपाली जनतालाई सत्ता र सडकमा दुवै पक्षको राजनीतिक ‘तमासा’ हेर्नै भ्याइनभ्याई छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने, हिन्दी फिल्म हेर्न सुझाव दिन्छन् । त्यो पनि यु–ट्युबमा खोजी–खोजी । केही दिनअघि प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहलाई माथि उल्लेखित फिल्म हेर्न सुझाव दिएका थिए ।
कोरोना महामारीका कारण झण्डै नौ महिना थिएटर र सिनेमा हल बन्द हुँदा निर्मातादेखि कलाकार, प्राविधिकसम्म बिल्लीबाठ भए । सरकारले बल्ल सर्तसहित थिएटर र सिनेमा हल खोल्ने अनुमति दिएको मात्र थियो, उतिखेरै सडकमा राजनीति दलबीच ‘उडाउने’ र ‘जोगाउने’ खेल सुरु भयो । हाल भइरहेको सडक प्रदर्शनका नारा र भाषण दक्षिण भारतीय कमेडी फिल्मका डाइलगभन्दा कम छैन । प्रधानमन्त्री ओलीकै शैलीमा भन्ने हो भने, ‘फ्रिःमै मनोरञ्जन गर्न पाउँदा पैसा तिरेर किन फिल्म र नाटक हेर्ने ?’
सिनेमा हल खुलिसकेका छन् । थिएटरहरु खुला भइसकेको छ । तर, दर्शक छैनन्, न त थिएटरमा नयाँ नाटक नै मञ्चन भएको छ । देश र जनताका लागि राजनीति गर्ने दलका नेताहरु रंगमञ्च तथा फिल्मका अभिनेताहरुभन्दा कडा डाइलग र कमेडी गर्न थालेका छन् । प्रधानमन्त्री ओलीको उखानका टुक्का र कटाक्ष सुनेरै जनता मनोरञ्जन लिइरहेका छन् । ‘नेताहरुको जुहारी हेरेर कम्ता रमाइलो हुन्छ’ एक सजनले यो स्तम्भकारसँग भने, ‘देश कतातिर गइरहेको छ, त्यो थाहा छैन । तर, फिल्म र नाटक हेरेर जीवनशैली रसिलो बनाउनेहरुका लागि अहिले नेताहरुकै भाषण काफी छ ।’
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राष्ट्रपतिमार्फत दुई तिहाइ बहुमतको जनादेश प्राप्त प्रतिनिधिसभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रम अत्यास लाग्दो बन्दै गएको छ । वर्तमान राजनीति बिग्रह फिल्मी शैलीमा ढल्किँदै गएको छ । दुई नेकपा एकतापछि गठित दुई तिहाइ बहुमतको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अढाइ वर्ष पनि टिकेन ।
हिजोका दिनसम्म ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा घन्काएका प्रधानमन्त्री ओली नै अहिले उडन्ते गफमा लागेका छन् । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबाट असुन्तुष्ट भइ विभाजित भएको नेकपा प्रचण्ड–माधव समूह सडकबाटै संसद पुर्नस्थापना गर्ने जोडका साथ लागेको छ ।
सडकमा लाग्ने नारा होस् या भाषण, उनीहरुको शब्द संयोजन सुन्दा लाजले मुख ढाक्नुपर्ने अवस्था छ । सुन्दा उखान टुक्का र हाँस्यास्पद अभिव्यक्तिजस्तो लागेपनि देशका कार्यकारी अभिभारा लिएका वा लिइसकेका व्यक्तित्वहरुबाट सडकमा एक अर्कालाई अशोभनीय गाली र कटाक्ष गर्नु राजनीति संस्कार होइन ।
प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको विरोधमा प्रचण्ड–माधव समूह, नेपाली कांग्रस, जसपालगायत चरणबद्ध सडक आन्दोलनमा छन् । सरकारको असंवैधानिक कदमबाट असन्तुष्टि बनेकाहरु सडकमा ओर्लिएर विरोध गर्नु लोकतान्त्रिक प्रक्रिया र मान्यता हो । तर, यहाँ सरकार नै आफ्नो गल्ती र असफलता छोप्न सडकमा नारा लगाइरहेको छ । योभन्दा अर्को तमासा र मजाक के हुनुसक्छ ?
नेकपा औपचारिकरुपमा विभाजित भएको छैन । निर्वाचन आयोगले समेत नेकपाको विभाजनलाई मान्यता दिएको छैन । तर, नेकपामा ओली गुट र प्रचण्ड–माधव समूह अर्कै ग्रहबाट आएजस्तै सडकबाटै सिध्याउने गरी कटाक्ष र आलोचना गरिरहेका छन् । राजनीति भनेको फोहोरी खेलमात्र होइन, देशको नीति निर्माण गर्ने तह पनि हो । तर, पछिल्लो राजनीतिभित्र यतिबिघ्न भद्दा–मजाक भइरहेको छ ।
नेकपाको आन्तरिक बिवादकै कारण एकजनाको सनकले दुई तिहाई बहुमतको सरकार अस्तित्वविहीन बन्न पुगेको छ । जब प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरे, तब यो बिग्रह निम्तिएको हो । प्रधानमन्त्री ओलीको अनपेक्षित निर्णयसँगै नेपालको राजनीति अकल्पनीय ढंगबाट तरंगित भएको छ ।
नेपालको राजनीतिमा स्थापित दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीच लामो अन्तरसंवादपछि २०७४ सालमा संदीय निर्वाचनमा चुनावी तालमेल गरेका थिए । त्यो तालमेल नेपाल कम्युनिष्ट पार्टीका लागि ऐतिहासिक क्षण थियो ।
चुनावी तालमेलको एक वर्ष पार्टी एकता घोषणा गरेका थिए, जसबाट नेकपाको झण्डै दुई तिहाई बहुमतको सरकार बनेको हो । त्यो बेला दुई तिहाइ बहुमतको सरकार नेतृत्व गर्ने जिम्मा पाएका ओलीले प्रतिनिधिसभा विघटन गरेर आफैँलाई ‘कामचलाउ’ सरकारको प्रधानमन्त्री बनाएका छन् । र, आफू अल्पमतमा परेपछि अहिले सत्ता जोगाउन उनलाई धौंधौ भएको छ ।
सत्तापक्ष र बिपक्षी दलको राजनीतिक दोहोरीसम्म नेपाली जनताले देख्दै आएको थियो । तर, नेकपा विभाजनसम्म आएपछि दुई खेमामा बाँडिएका नेकपाकै नेताबीच एक–अर्कालाई ‘मजाक’ गरिहरेका छन् । उनीहरुबीच हुने कटाक्षको सीमै हुन छाडेको छ ।
सडकमा लाग्ने नारा होस् या भाषण, उनीहरुको शब्द संयोजन सुन्दा लाजले मुख ढाक्नुपर्ने अवस्था छ । सुन्दा उखान टुक्का र हाँस्यास्पद अभिव्यक्तिजस्तो लागेपनि देशका कार्यकारी अभिभारा लिएका वा लिइसकेका व्यक्तित्वहरुबाट सडकमा एक अर्कालाई अशोभनीय गाली र कटाक्ष गर्नु राजनीति संस्कार होइन ।
प्रधानमन्त्री ओलीले आफ्ना प्रतिपक्षीहरुलाई फिल्मको कथा सुनाउन थालेका छन् । पुरानो हिन्दी फिल्म ‘एसवन्त–१९९६’मा अभिनेता नाना पाटेकरले बोलेको चर्चित डाइडल ‘एक मच्छरको हिँजडा बना देता हुँ’ भनेजस्तै यतिखेर नेकपाकै नेताहरु सडकबाटै एक–अर्कालाई सिध्याउन चरित्र हत्यासम्म गर्न थालेका छन् ।
सडकका किनारामा होस्, वा हजारौँ खर्च गरेर सजिएको मञ्चमै किन नहोस्, अशोभनीय शब्दहरू र त्यसका शब्दार्थहरू माथि बालमस्तिष्कले प्रश्न गर्याे भने नाजवाफ बस्नुपर्ने अवस्था छ । तत्काललाई सुन्दा रमाइलो र हाँसिमजाक लाग्ने ती राजनीतिक प्रतिशोधात्मक आवेगमा गरिने यस्ता प्रतिक्रियात्मक शब्दजाले वर्तमान र अबका युवापुस्ताले के सिक्लान् ?
प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको वैयक्तिक स्वार्थ बाझिँदा देखिएको अन्योलता र त्यसबाट उत्पन्न परिस्थितिमा चलेको यो अशोभनीय कटाक्ष क्षणिकलाई मनोरञ्जनको खुराक बनेको छ । फिल्म हिट बनाउनका लागि निर्देशकले कथाभित्र ‘अश्लील’ लाग्ने डाइलगहरुसमेत सिर्जना गरेको हुन्छ । तर, त्यस्ता डाइलगहरु केन्द्रीय चलचित्र जाँच पास (सेन्सर बोर्ड)ले कैँची लगाइदिएको हुन्छ । र, त्यस्ता डाइलगहरु फिल्म हिट नभएपनि मानिसलाई उसको नोस्टाल्जियमा पुर्याएकाे हुन्छ ।
मनमा बस्ने ती डाइलग आक्रोश, व्यंग्य वा ह्युमरजस्ता जुनकुनै पक्षका हुन सक्छ । तर, अहिले राजनीति दलमा देखिएको अस्वस्थतालाई कसले ‘कैँची’ लगाउने ? जबकि, नीति निर्माण तहमा बसेको दल र सरकार नै फिल्मीशैलीमा उत्रिएको छ । त्यसैले अब दलका नेताले राजनीतिमा नैतिकताको आचरण शुद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेर बस्तुतः ब्यबहार देखाउनुपर्ने अवस्था आइसकेको छ ।