रुपन्देही, १५ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले रुपन्देहीको बुटवलमा विरोध सभा गर्दैछ ।
दिउँसो एक बजे हुने विरोधसभालाई नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विरोध सभा लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा गर्ने तयारी भइरहेको छ ।
बुटवलको उत्तरतर्फको गोलपार्कबाट केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा, पश्चिमतर्फ जितगढीबाट स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’, पूर्व–दक्षिण राजमार्ग चौराहाबाट जुलुस निस्कने जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य घनश्याम भुसाल लगायतले गर्ने कार्यक्रम रहेको छ । सो जुलुस विरोधसभामा परिणत हुने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
विरोधसभामा करिब २० हजार कार्यकर्ता सहभागी गराउँने आयोजकको भनाइ छ ।
जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको सो समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले बताए । प्रतिनिधि सभा विघटनको विरोधमा यो समूहले देशैभर आन्दोलनको घोषणा गरेको छ ।