काठमाडौं, १५ माघ ।
नेपालमा भ्रष्टाचार बढेको रिपोर्ट सार्वजनिक भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार विश्वका एक सय ८० देशको रिपोर्ट सार्वजनिक गरेको छ । जसमा नेपालमा सुशासन खस्किएको र भ्रष्टाचार बढेको उल्लेख छ ।
एक सय ८० देशमध्ये एक सय १३ बाट झरेर नेपाल एक सय १७ औं स्थानमा खस्किएको छ । बिहीबार विश्वभरीका एक सय ८० देशको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआइ) रिपोर्ट सार्वजनिक गर्दै उसले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ ।
रिपोर्टअनुसार नेपाल एक सय १७ स्थानमा धकेलिएको छ । गत वर्ष एक सय १३ स्थानमा थियो । गत वर्ष नेपालले एक सयमा ३४ अंक प्राप्त गरेकोमा यो वर्ष ३३ अंक मात्र प्राप्त गरेको छ ।
रिपोर्टले केपी ओली सरकारलाई धक्का लागेको छ । ओलीले आफ्नो कार्यकालमा राम्रो काम भएको दाबी गर्दै आएका थिए ।
रिपोर्टअनुसार सन् २०२० मा सबैभन्दा बलियो सुशासन भएको देशहरूमा डेनमार्क, न्यूजील्याण्ड, फिनल्याण्ड, सिंगापुर, स्वीडेन र स्वीजरल्याण्ड पर्दछन् । सय अंकमा डेनमार्क र न्यूजील्याण्डले समान ८८ अंक पाएका छन् ।
त्यस्तै, फिनल्याण्ड, सिंगापुर, स्वीडेन र स्वीजरल्याण्डको समान ८५ अंग छ । सन् २०१९ मा न्यूजील्याण्ड, डेनमार्क, फिनल्याण्ड, स्वीजरल्याण्ड, सिंगापुर, स्वीडेन, नर्वे, नेदरल्याण्डस्, लक्जेमबर्ग र जर्मनी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा थिए । गत वर्ष पाँचौ नम्बरमा रहेको सिंगापुर यो वर्ष चौथो नम्बरमा उक्लिएको छ ।
ट्रान्सपरेन्सीले सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचिमा क्रमशः साउथ सुडान, सोमालिया, सिरिया, यमन र भेनेजुयला छन् । अघिल्लो वर्ष सोमालिया, साउथ सुडान, सिरिया, यमन र अफगानिस्तान सबैभन्दा धेरै भ्रष्टाचार हुने पाँच देशमा परेका थिए ।