नवलपुर, १५ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूूर्व)मा ११ हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूूर्व)का अनुसार जिल्लामा ११ हजार ४०९ जना मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी ओम नारायण शर्मा ढुंगानाले पुस ५ गतेसम्म कार्यालयमा दर्ता भएको नामावली निर्वाचन आयोगमा पठाएकोमा आयोगबाट दुई लाख ३३ हजार १२३ मतदाताले मतदानमा भाग लिन पाउने गरी नामावली फिर्ता आएको बताए ।
उनकाअनुसार एक लाख नौ हजार ५६७ जना पुरुष, एक लाख २३ हजार ५५२ जना महिला र चार जना तेस्रो लिंगी रहेका छन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए । जिल्लामा मतदानस्थान तथा मतदान केन्द्र निर्धारण पुनरावलोकन समितिको बैठक बसिसकेको भन्दै जिल्ला निर्वाचन अधिकारी ढुङ्गानाले जिल्लामा मतदानस्थल तथा केन्द्र नबढ्ने बताए । जिल्लामा २५८ मतदान केन्द्र तथा ११२ मतदानस्थल रहेका छन् । राजनीतिक दलहरुले मतदान केन्द्र र मतदानस्थल थप गर्ने विषयमा कुनै सुुझाव नदिएको उनले जानकारी दिए ।
‘जिल्लामा मतदान केन्द्र र स्थल थप हुने विषयमा कुनै सुुझाव आएको छैन’, उनले भने, ‘यद्यपि मध्यविन्दु–१३ मा एउटा गाउँ रहेको छ, त्यस गाउँका करीब ६०० मतदातालाई भोट हाल्न जानका लागि २०÷३० किलोमिटर नै हिँड्नुपर्ने देखिएको छ ।’ अहिलेको नयाँ संरचनाका कारण उनीहरुलाई धेरै हिँड्नुपर्ने भएको भन्दै ढुङ्गानाले त्यस गाउँमा कुनै पनि सरकारी कार्यालय नहुँदा मतदानस्थल निर्माण गर्न समेत समस्या देखिएको बताए ।
आयोगबाट नामावली प्राप्त भइसकेकाले आगामी माघ १५ देखि मतदाताको नामावलीमा रहेको दोहोरो नामावली हटाउने, त्रुटी सच्चाउने, विवरण सच्चाउने काम हुने उनले बताए । मतदाता नामावली सच्चाउनका लागि जिल्लाका आठ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकिएको भन्दै ढुंगानाले उनीहरुका अभिमुखिकरणसमेत दिइसकिएको बताए । सहायक नाम दर्ता अधिकारीले माघ १५ देखि स्थानीय तहमा नै बसेर विवरण सच्चाउने काम गर्ने उनले बताए ।