काठमाडौं, १५ माघ । निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको निर्वाचनका लागि गरिरहेको तयारी र दल दर्तासम्बन्धी छलफलका लागि बोलाएको छलफलमा नेकपाको दुवै समूह जाने भएको छन् । आयोगले नेकपाको दुवै पक्षलाई छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे बोलाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार बिहान साढे ११ बजे दुवैपक्षबाट अध्यक्षसहित ५/५ जना पार्टीका प्रतिनिधिहरूलाई आयोग कार्यालयमा छलफलका लागि बोलाइएको हो ।
प्रवक्ता श्रेष्ठका अनुसार नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल समूहलाई छुट्टाछुट्टै पत्र लेखी अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्तिलाई बोलाएको हो । गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवे भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि वैशाख १७ मा पहिलो र २७ मा दोस्रो चरणको चुनावको मिति तोकिएको छ । हाल यससम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलगअलग भए पनि विधानतः यो पार्टीको आधिकारिकता र चुनाव चिह्नलगायत अन्य गतिविधिउपर आयोगले अमान्य ठहर गरिसकेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई कित्तामा बाँडिएका छन् । अहिले एउटा पक्ष नेकपा प्रचण्ड–नेपा समूह सडकमा आन्दोलनरत छ ।