काठमाडौं, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरमा गत वर्ष रेकर्ड राख्यो । एकै वर्ष ४ सय ४१ मुद्दा दायर भए । पहिलोपटक आयोगले एक वर्षमा यति धेरै मुद्दा दायर गरेको थियो । मुद्दाको रेकर्ड धेरै बनाए पनि आयोग पछिल्लो समय उत्साहित छैन । किनकि, विशेष अदालतले धमाधम मुद्दा दायर गरिएकाहरुलाई सफाइ दिइरहेको छ । बलियो प्रमाण भएका मुद्दामा समेत ठहर हुन नसकेपछि आयोगका अधिकारीको चिन्ता बढेको छ । खासगरी चालू आर्थिक वर्षमा ठूला मुद्दाका आरोपीले सफाइ पाउने क्रम बढेको छ ।
नक्कली चालक खडा गर्नेलाई सफाइ
दुर्घटनाका चालक परिवर्तन गरेको अभियोग लागेका नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसीसहित चार प्रहरीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश प्रेमराज कार्कीसहित न्यायाधीहरू नित्यानन्द पाण्डेय र चन्द्रबहादुर सारूको इजलासले अघिल्लो आइतबार इन्स्पेक्टरसहित सबैलाई सफाइ दिएको हो ।
डेढ वर्षअघि इलाका प्रहरी कार्यालय, गैँडाकोटका तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर जिसीको निर्देशनमा दुर्घटनाका चालक परिवर्तन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको थियो । यसमा १० लाख रुपैयाँको आर्थिक चलखेल रहेको दाबी गरिएको थियो ।
दुर्घटनामा बोधराज पाण्डे वास्तविक चालक रहेकोमा किसुना महतोलाई खडा गरी मुद्दा चलाइएको अभियोगमा इन्स्पेक्टर केसीसहित अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देवबहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बलबहादुर वलीविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरू सबैले सफाइ पाएका छन् ।
गाडीको ठक्करबाट नन्दकली शर्माको उपचारको क्रममा मृत्यु भएको थियो । अर्का एक घाइते भएका थिए । व्यवसायी रहेका चालक पाण्डेलाई जोगाउन महतोलाई चालकको रूपमा खडा गरिएको पाइएपछि प्रहरीले समेत आन्तरिक छानबिन गरी इन्स्पेक्टर जिसीलगायतलाई निलम्बन गरेको थियो । पछि अख्तियारले छुट्टै मुद्दा चलायो ।
चालक परिवर्तन घटनाको योजना बोधराज पाण्डेका भाइ शालिकराम पाण्डे भएको भन्दै आयोगले उनलाई समेत मुद्दा दायर गरेको थियो । चार प्रहरी र तीन सर्वसाधारणले मुद्दामा सफाइ पाएका हुन् ।
त्यतिवेला प्रहरी कार्यालयको सिसिटिभी फुटेज, विभिन्न व्यक्तिको बयानका आधारमा आयोगले मुद्दा चलाएको थियो । घटनास्थलको वेला महतो आफ्नै घरमा देखिएको आयोगको अभियोगमा उल्लेख थियो । तर, विशेष दाबी नपुगेको भन्दै सफाइ दिएको छ । घटनास्थलमा चालकका रुपमा खडा गरिएका महतो नै देखिएका थिएनन् । पछि उनलाई उपस्थित गराइएको थियो । त्यसका प्रशस्त प्रमाण हुँदासमेत सफाइ दिएपछि अनुसन्धान अधिकारीले अनौठो मानेका छन् । सो मुद्दा पुनरावेदनको तयारी भइरहेको छ ।
चिकित्सकलाई उन्मुक्ति
विशेष अदालतले आयुर्वेद चिकित्सक रामदेव यादवलाई सफाइ दिएको छ । उनलाई विशेषका न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारूको इजालसले गत महिना सफाइ दिएको हो ।
उनीमाथि अख्तियारले २०७५ जेठ ४ मा ३७ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो । उनी नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा निमित्त निर्देशकका रूपमा कार्यरत रहँदा घुस लिएको अख्तियारको आरोप थियो । घुस लिनुअघि पैसा मागेको भिडियोसमेत पेश गरिएको थियो ।
कन्सल्टेन्ट आयुर्वेद चिकित्सक (दशौं तह)मा रहेका उनले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई तीन महिने ओजेटी (प्रशिक्षण र तालिम) गराउने वहानामा घुस मागिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
सूचनाका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ३७ हजार रुपैयाँ लिइसकेको अवस्थामा आयुर्वेद चिकित्सालयको सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो ।
करोडौंको जग्गा प्रकरण
विशेष अदालतले जुम्लाको गुठीचौरस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा आरोपित सबैलाई सफाइ दिएको छ । पुसको पहिलो साता विशेषका अध्यक्ष प्रेमराज कार्की तथा न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले आरोप पुष्टि नभएको भन्दै विपक्षी सबैलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असार २ गते यसमा संलग्न जुम्लाका तत्कालीन मालपोत प्रमुख गोविन्दप्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध विशेषमा अभियोगपत्र दायर गरेको थियो । न्यौपानेका साथै मालपोतका तत्कालीन खरिदार र भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख रहेका यमुनाकुमार श्रेष्ठविरुद्ध अख्तियारले जनही ४५ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
तीनैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को उपदफा १ (ज) बमोजिम ‘सरकारी वा सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा आफ्नो वा अरूको नाममा दर्ता, भोगचलन गर्ने–गराउने’ कसुर गरेको अख्तियारको ठहर थियो । उनीहरूलाई तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय माग गरिएको थियो ।
यसैगरी, ९३ हजार वर्गकिलोमिटर सरकारी जग्गा आफ्नो नाममा गराउने १३ जनाउपर अख्तियारले अभियोगपत्र दायर गरेको थियो । मुनिश चन्द्र, मायालाल, विष्णु, विष्णु ऋषि, विष्णुलाल, पार्वती, नवऋषि, गोमा, केशवराज र कविदत्त न्यौपानेले जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । साथै देवेन्द्रप्रसाद उपाध्याय र जानकी दत्त देवकोटाले पनि सरकारी जग्गा आफ्नो नाममा गराएको भन्दै मुद्दा दायर भएको थियो ।
उनीहरूमाथि उक्त ऐनको दफा ४ बमोजिम सरकारको नियम उल्लंघन गर्दै बदनियतले गरेको कार्य भएको भन्दै सजाय माग गरिएको थियो । सबैजनामाथि गरेर ४० लाख हाराहारी बिगो असुलउपर गर्नुपर्ने दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो । तर, सबैले सफाइ पाएका छन् ।
जुम्लाको गुठीचौरस्थित भेडाबाख्रा फार्मको नाममा दर्ता भएको पाँच सय ९० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको भेटिए । जसमा तत्कालीन मालपोतका निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेले आफ्नी श्रीमतीसहित आफन्तको नाममा उक्त सरकारी जग्गा दर्ता गरेको अख्तियारको अनुसन्धानका क्रममा देखिएको थियो । उनले पत्नी गोमा र छोरी पार्वतीको नाममा समेत जग्गा नामसारी गरेको अख्तियारको दाबी थियो ।
भेडा बाख्रा फार्मको नाममा रहेको उक्त सरकारी जग्गा भेडा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख यमुनाकुमार श्रेष्ठसँगको मिलेमतोमा न्यौपानेले आफ्ना परिवार र आफन्तको नाममा दर्ता गराएको अख्तियारको आरोप थियो । घटना खुलेपछि अख्तियारले उनीहरूविरुद्ध गत असारमा मुद्दा दायर गरेको थियो । यसै प्रकरणमा विशेषले सबैलाई सोमबार सफाइ दिएको हो ।
गत वर्ष आयोगले रंगेहात पक्राउ परेका दर्जनौंलाई सफाइ दिएको थियो । बौद्ध वृत्तबाट पक्राउ परेका डिएसपी श्यामकुमार राईले सफाइ पाएका थिए । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङका कर्मचारीहरु देवेन्द्र गोइत, नापी कार्यालय साँखुका अधिकृत भागवत शाह, भुमीसुधार कार्यालय बाराका नासु रामजीप्रसाद साहलाई सफाइ दिएको थियो । त्यस्तै कोटेश्वर ट्राफिकमा कार्यरत असइ सुवास ढुंगानासहित ६ प्रहरीलाइ पनि सफाइ दिएको थियो ।
कुन वर्ष आयोगलाई कति सफलता ?
पछिल्ला आर्थिक वर्षमा अख्यितारबाट आयोगमा मुद्दा दायरको संख्या बढ्दै गएको छ । विशेषबाट सफाइ पाउनेको संख्या पनि बढेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ८४ दशमलव ८ प्रतिशत मुद्दामा मात्र आयोगले सफलता पायो । अघिल्लो आर्थिक वर्षमा सफलता ८८ दशमलव २४ प्रतिशत थियो ।