Logo
Logo

चौथोपटक आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा


- दृष्टि संवाददाता

504
Shares

काठमाडौं, १५ माघ । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी चौथो पटक फाइनलमा पुगेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रनको योगफल तयार पारेको थियो । फाइनल प्रवेशका लागि २ सय ३० रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले ४० ओभर २ बलमा नै सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।

आर्मीले शनिबार हुने फाइनलमा उपाधिका लागि विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबको सामना गर्नेछ । एपिएफ बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । एपीएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा आइपुगेको थियो भने नेपाल पुलिस क्लब समूह ‘बी’को उप-विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो ।

जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । यस्तै, सेमिफाइनलमा पुग्ने टिमले ५०/५० हजार पाउने छन् भने प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५/२५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्