Logo
Logo

नेपालमा पहिलोपटक नर्भिकले गर्यो क्याल्सियम भरिएको मुटुको नशाको शल्यक्रिया विनै सफल उपचार


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, १५ माघ । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको विनाचिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको छ ।

नर्भिक इन्टरनेशनल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको टिमले अधिक क्याल्सियमका कारण बन्द भएको मुटुको नशा बिनाचिरफार सफल शल्यक्रिया गरेको हो । डा. भट्ट नेतृत्वको टिमले  एक ८० वर्षीय बिरामीलाई यूरोप/अमेरिकामा मात्र संभव प्रविधि प्रयोग गरी उपचार गरेका हुन् । यस्तो शल्यक्रिया नेपालमै पहिलोपटक भएको हो ।

यो प्राविधिक रुपमा निकै जटिल खालको उपचार विधि पनि हो । भट्ट नेतृत्वको ५ डाक्टरसहित १० जनाको टिमले डेढ घण्टा लगाएर नेपालमै पहिलोपटक आइभिएल प्रविधिबाट एन्जियोप्लाष्टीको काम गरेको हो । यो प्रविधि नहुँदा क्याल्सियम भरिएको मुटुको नशा खुलाउन पनि बाइपास सर्जरी गर्नुपर्ने बाध्यता हुन्थ्यो, आधुनिक प्रविधिको सफलतमा प्रयोगबाट अब नेपालमा पनि बिनाचिरफार उपचार संभव भएको हो ।

‘मेडिकल भाषामा यो विधिलाई हामी इन्ट्राभास्कुलर लिथोट्रिस्पी अर्थात आइभिएल भन्छौं ।’ डा. भट्टले भने, ‘जसरी किड्नी वा पिसाब थैलीमा बनेको ढुंगालाई बिनाचिरफार वेभको मद्दतले फुटाएर बाहिर निकाल्ने काम गरिन्छ, मुटुको एन्जियोप्लाष्टीमा पनि हामीले यस्तै खालको प्रविधि अपनाएर सफल उपचार गरेका हौं ।’

यो प्रविधिमा सानो बेलुनको सहायताले च्यापिएको नशालाई खोल्ने र वेभको माध्यमबाट त्यहाँको क्याल्सियम चकनाचुर पार्ने काम गरिन्छ । ‘यो प्रविधिबाट स्वदेशमा उपचार संभव नहुँदा धेरै बिरामी विदेश जानुपर्ने बाध्यता थियो, तर अब त्यो बाध्यताको हामीले अन्त गरेका छौं ।’ नर्भिकको कार्डियोलोजी विभागका डाइरेक्टर समेत रहेका डा. भट्ट भन्छन्–‘यो प्रविधिको उपचार मुटुको नशामा क्याल्यिसम भरिएका बिरामीलाई मात्र काम लाग्छ ।’

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले मुटुको अत्याधुनिक शल्यक्रियामा अस्पतालले निकै महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्दै यसबाट विदेश जानुपर्ने बाध्यता अन्त भएको बताए । ‘अन्तर्राष्ट्रिय स्तरका अस्पतालका डाक्टर झै हाम्रा चिकित्सकहरु पनि उत्तिकै सक्षम छन् भन्ने उदाहरण पनि हो यो ।’ उनले भने, ‘मुटु रोगको उपचारमा विशेष योगदान गर्दै आएको नर्भिकले भविष्यमा अन्य यस्ता आधुनिक प्रविधि समेत भित्र्याउँदै जानेछ ।’

प्रतिक्रिया दिनुहोस्