Logo
Logo

निर्वाचन सुनिश्चित नहुँदै आयोगको तीव्र तयारी


- दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटहरुमाथि संवैधाविनक इजलासमा बहस जारी छ । संवैधानिक इजलाससको बहस सकिन र सर्वोच्चले निर्णय लिन अझै महिना दिन लाग्न सक्छ । तर, निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ ।

प्रतिनिधिसभा विघटनको विषयमा परेको मुद्धामा बहस चलिरहेकै अवस्थामा सोहि सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई वैधानिक सहजता छैन । तर, पनि आयोग निर्वाचन तयारीमा जुटेको हो । संवैधानिक संकटको यो समयमा आयोगले राजनीतिक दलसँग छलफल बढाएको छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाका दुबै पक्षलाई बोलाएको थियो । तर, छलफल हुन सकेन । नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्षद्धय राजनधानी बाहिर रहेकाले आयोगले बोलाएको छलफलमा सहभागी हुन नसक्ने भन्दै छलफलको समय सार्न माग गरेको छ ।

अदालतबाटै असंवैधानिक कदमको विपक्षमा निर्णय हुने, नभए सडकबाटै ओलीलाई सत्ताच्यूत गर्ने पक्षमा रहेको प्रचण्ड–माधव समूह सकभर निर्वाचन आयोगले तय गरेको निर्वाचन तयारीसँग सम्बन्धित कार्यक्रममा सहभागी नहुने पक्षमा छ । तर, ओली समूह भने जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने अडानमा छ ।

आयोगले बोलाएको छलफलमा प्रचण्ड–माधव समूहले समय मागेर फर्के पनि ओली समूहले प्रमुख आयुक्त लगायतसँग फलफल गरेको छ । छफलका क्रममा ओली समूहले आयोगलाई जसरी पनि निर्वाचन गर्नु पर्ने र सम्पूर्ण तयारीमा जुट्न भनेर फर्केको छ । प्रमुख आयुक्तसँग छलफल गरेर बाहिरिएका ओली समूहका नेता सुवास नेम्वाङले भने– ‘प्रमुख आयुक्तसँग छलफल गरेर आएका छौं । दलदर्ता सम्बन्धि काम बढाउन भनेका छौं । निर्वाचनबाट कोहि भाग्नु हुँदैन, सबै समस्याको हल निर्वाचनबाट गर्नुपर्छ । त्यसैले निर्वाचनको सम्पूर्ण तयारीमा जुट्नुस् ।’

निर्वाचन घोषणा गर्ने सरकारको वैधतामै प्रश्न उब्जेको बेला निर्वाचन आयोगलाई जसरी पनि निर्वाचन गर्नुपर्छ भनेर दवाव दिने ओली समूहको नीति रहेको देखिन्छ । वैधताको संकटमा रहेको सरकारले घोषणा गरेको निर्वाचन हुन्छ भनेर निर्वाचन आयोग पनि विश्वस्त छैन । तर, पनि निर्वाचनको मिति नै घोषणा भइसकेकाले तयरीमा लाग्नु पर्ने बाध्यता आयोगलाई छ ।

सरकारले निर्वाचन घोषणा गरे पनि तोकिएकै मितिमा निर्वाचन हुन्छ भन्ने हुँदैन । निर्वाचन मुलतः राजनीतिक विषय रहेकाले राजनीतिक दलहरु निर्वाचनका लागि तयार नभएसम्म निर्वाचन हुन सक्दैन । सरकारले तोक्दैमा निर्वाचन हुँदैन भन्ने धेरै उदारण छन् ।

एक कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुत्त अयोधिप्रसाद यादवले भनेका थिए– ‘सरकारले निर्वाचन घोषणा गरेपछि आयोगलले पूर्ण तयारी गरेतापनि निर्वाचन हुन्छ भन्ने हुँदैन । निर्वाचन सम्पन्न गर्नका लागि सबैभन्दा पहिले राजनीतिक दल तयार हुनु पर्छ । त्यसैले ओली सरकारले घोषणा गरेको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ भन्ने लाग्दैन ।’

अहिलेको अवस्थामा ओली समूहबाहेक कसैले पनि निर्वाचन चाहेको छैन । ठूलो राजनीतिक दल नेपाली काँग्रेसले पनि निर्वाचन हुनुपर्छ भन्न सकेको छैन । त्यसैले निर्वाचन सुनिश्चित छैन ।

प्रतिनिधिसभाको समय बाँकी रहँदै अर्को निर्वाचन गर्दा राज्यलाई ठूलो आर्थिक भार हुने भएकाले ओली सरकारले घोषणा गरेको निर्वाचन हुनै नसक्ने धेरैले भन्दै आएका छन् । यस्तो अवस्थामा निर्वाचन आयोगको तयरी व्यर्थ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्