काठमाडौं, १६ माघ ।
विवादास्पद पृष्ठभुमी भएका प्रेम आलेलाई वन मन्त्री बनाइएकाेमा सर्वत्र आलोचना भइरहेको छ । बाहिर मात्र होइन मन्त्रालयभित्रैबाट समेत उनको आलोचना भएको छ । मन्त्रालयका सचिव लगायतले मन्त्री आलेलाई टेर्दैनन् ।
वनमन्त्री बनेपछि आलेले बुधबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम राखेका थिए । तर, उनी नै ढिला गरी आइपुगे । कार्यक्रम बिहान ११ बजे तय भए पनि पौने १२ बजे मात्र पुगेका आलेले सुरुवातमै भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा जाँदा ढिलो भयो, क्षमाप्रार्थी छु ।’ कार्यक्रम सञ्चालक वनमन्त्रीका राजनीतिक सल्लाहकार सम थापाले वनसचिव विश्वनाथ ओली पनि आउने जानकारी गराएका थिए । तर, करिब एक घन्टा चलेको कार्यक्रममा सचिव नै पुगेनन् । उनलाई छुट्याइएको कुर्सी खाली नै रह्यो । मन्त्रीले आयोजना गर्ने पत्रकार सम्मेलनमा सचिव, सम्बन्धित महाशाखा र विभागका प्रमुखसमेत सहभागी हुने प्रचलन छ । बरू सचिव ओलीले प्रशासन महाशाखा प्रमुख नवराज ढुंगानालाई पठाएका थिए ।
पत्रकारले वैज्ञानिक वन व्यवस्थापनको प्राविधिक पाटोका साथै निजगढ विमानस्थलको रूख कटान, काठमाडौं–तराईरमधेस फास्ट ट्रयाकका विषयमा जिज्ञासा राख्दा मन्त्री आलेले भने, ‘सचिवज्यू आउँदै हुनुहुन्छ, उहाँले जानकारी दिनुहुन्छ ।’ तर, सचिव अन्तिमसम्म आएनन् । मन्त्रालयका प्रवक्तासमेत योजना महाशाखा प्रमुख प्रकाश लम्साल पनि अन्तिम समयमा पुगेका थिए । सचिव ओली आफ्नो ३०३ नम्बर कार्यकक्षमै थिए ।
यसरी मन्त्रीको कार्यक्रम सचिवले अवज्ञा गरेको घटनालाई धेरैले अनौठो मानेका छन् ।