Logo
Logo

४६ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप


- दृष्टि संवाददाता

441
Shares

काठमाडाैं, १६ माघ । देशभर ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । कोभिड–१९ कोरोना विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिन ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशका छन् । वाग्मतीमा आज १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका छन् ।

त्यस्तै प्रदेश नम्बर २ मा ४ हजार ६ सय ५०, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन् ।

पहिलो चरणको खोपको प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मीहरू, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरूलाई राखेको छ ।

त्यस्तै ,वृद्धाआश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरू पनि खोपको प्राथमिकतामा छन् । हाल ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट खोप अभियान सञ्चालन भइरहेको छ ।

खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापनका लागि देशभरीबाटै विज्ञ चिकित्सकहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ। हरेक अस्पतालहरुमा संभाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको समुचित व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्