काठमाडौं, १६ माघ ।
उपत्यकाका वृत्तहरुमा एकपछि अर्काे घुसखोरीका घटना बाहिर आएका छन् । भक्तपुरको महानगरीय प्रहरी वृत्त जगातीमा पनि घुस लेनेदन भएको खुलेको छ ।
दुर्घटनासम्बन्धि मुद्दामा वृत्तका डिएसपी राजेश थापासहितका प्रहरीले घुस लिएको खुलेको हाे । आरोपी पक्षसँग मिलेर पीडितलाई असहयोग गरी घुस लिएको खुलेपछि डिएसपी सहितका प्रहरी कारबाहीमा परेका छन् । डिएसपी थापासहित इन्सपेक्टर सानु तामाङ र सइ बिक्रम सेनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाही गरेको छ । उनीहरुलाई रेकर्डमा जनिने गरी नसियद दिइएको छ । इन्सपेक्टर तामाङ र सइ सेनलाई भने वृत्तबाट सरुवा समेत गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
सवारी ज्यानसम्बन्धि मुद्दामा घुस लिदै गर्दा थानकाेट वृत्तका इन्सपेक्टर गायत्रीराज शर्मा गत महिना पक्राउ परेका थिए । सोही वृत्तका इन्सपेक्टर रामप्रसाद सापकोटामाथि पनि कारबाही प्रक्रिया अघि बढेको छ । लागु औषध कारोबारीलाई भगाएको आरोप उनीमाथि छ ।
सुन लुटेराका आरोपीमाथि छानबिन नै नगरी छाडिदिएको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्कामाथि पनि छानबिन भइरहेको छ ।