काठमाडौं, १८ माघ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप पाँचौ दिन आज (आइतबार) २३ हजार ५८५ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा अहिले बेलुका ४ बजेसम्म २३ हजार ५ सय ८५ जनाले खोप लगाएका छन् ।
आजसम्म कुल ८८ हजार ७ जनाले खोप लगाइसकेका छन् । पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५ र चौथो दिन १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएका थिए ।
प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११,लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिममा ६ हजार ८ सय ७७ ले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतको सिरम इन्स्टिच्युटबाट निर्मित ‘कोभिडशिल’ खोप गत १४ गते देखि खोप लगाउन सुरु गरिएको थियो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने छन् ।