काठमाडौं, १९ माघ । म्यानमारमा त्यहाँको सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । आज बिहान नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सूकीलाई सेनाले गिरफ्तार गरेको थियो ।
स्टेट काउन्सिलर तथा विदेशमन्त्री समेत रहकी सूकी सहित राष्ट्रपथित विन मिन्ट सहितका नेताहरुलाई सेनाले हिरासतमा लिएको छ । त्यसको केहीबेर पछि टेलिभिजनमार्फत सत्ता आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । अबको एक वर्षसम्म संकटकाल रहने सेनाको घोषणा छ । अब म्यानमारको शासन सेना प्रमुख मिन आङ ह्लाइङले सञ्चालन गर्ने छन् ।
आज विहान सुकीको दल एनएलडका प्रवक्ता म्यो न्युन्तले जिम्मेवार पदाधिकारीहरुलाई पक्राउ गरेको समाचार संस्थाहरुलाई जानकारी दिएका थिए । उनले आफूपनि लगतै पक्राउ पर्न सक्ने बताएका थिए । गत नोभेम्बर महिनामा म्यानमारमा भएको चुनावमा सुकीको दल एनएलडीले बहुमत ल्याएको थियो ।
तर, सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । तर, त्यहाँको निर्वाचन आयोगले सेनाको दाबीको खण्डन गरेको थियो । आज बोलाइएको संसद बैठक पनि सेनाले स्थगित गर्न दबाब दिंदै आएको थियो ।
राजधानी याङ्गुनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यहाँ टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएका छन् । सन् २००८ को संविधानअनुसार म्यानमारको संसदमा सेनालाई २५ प्रतिशत सिट छुट्याइएको छ । सु की प्रशासनमै पनि सेनालाई तीन वटा महत्वपूर्ण मन्त्रालय दिइएको थियो । त्यसअघि पनि सन् २०११ सम्म सेनाले म्यानमारमा प्रत्यक्ष शासन सञ्चालन गरेको थियो ।
सन् १९८९ देखि २०१० सम्म सुकीले सेनाले नजरबन्द राखेको थियो । सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।