Logo
Logo

कुष्ठरोगसँग पौठेजोरी खेल्दै धनुषाकाे कोढिया बस्ती


- दृष्टि संवाददाता

378
Shares

धनुषा, १९ माघ । भौतिक विकासमा अब्बल मानिने प्रदेश २ मानव विकासको पक्षमा कमजोर छ । हेर्दा सुविधासम्पन्न देखिने प्रदेश २ का नागरिकको पीडा असीमित छ । प्रदेश राजधानी धनुषा त अझ समस्याको पनि राजधानीभन्दा फरक पर्दैन ।

धनुषाका बस्ती बस्तीमा समस्या छ । समस्याहरुमा जेलिँदै गएको छ, कोढिया बस्तीमा । जहाँका ४० जनालाई कुष्ठरोगले पलपल सताइरहेको छ । कष्टकर जीवन बिताइरहेका छन् ।  सामाजिक अवहेलनाको कुरै नगरौं । कोढिया बस्ती छोडेर बाहिर निस्कन सक्ने अवस्था समेत छैन ।

कुष्ठरोगसँग पौठेजोरी खेल्दै बाँचेकाहरु गाँस, बास र कपासको चरम संकट भोग्दै आएका छन् । तर, सरकारले न उपचार खर्च दिएको छ न जीवन यापनका लागि कुनै सहयोग गर्छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यो बस्तीका वृद्धवृद्धा र बालबालिका मात्र होइन वयस्क पनि मागेर जीवनयापन गर्छन् ।

समाजसेवी जमिरिया देवीले १५ वर्ष अगाडी बनाइदिएको सानो भवनमा ४० जना कुष्ठरोगी बस्दै आएका छन् । त्यही भवन पनि पुरानो र जीर्ण भइसक्यो । छतबाट पानी चुहिन्छ ।

यो भवनभित्रै बालबालिकाको अध्ययनका लागि कक्षाकोठा बनाइएको छ । तर, पढाई हुँदैन । यहाँ कसले गएर पढाइदिने ? बालबालिकाको भविष्य पनि अन्धकार छ ।

स्थानीय सरकारले शासन संचालन गर्न थाले पनि उनीहरुको व्यवस्थापनमा ठोस काम गर्न सकेको छैन । स्थानीय सरकारले बेला–बेला दिने राहतले उनीहरुको गर्जो टर्दैन ।

विपन्न, गरीब, असहाय र निमुखालाई विशेष श्रेणीमा राखेर काम गरिरहेको सरकारको दावी छ । तर, कोढिया बस्तीका कुष्ठरोगीले सरकारको दावी महसुुस गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्