काठमाडौं, २० माघ । म्यानमारको सेनाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडनले कदम चाल्ने चेतावनी दिएका छन् । सोमबार म्यानमारको सेनाले शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको हो ।
सेनाले म्यानमारमा एक वर्ष संकटकालको समेत घोषणा गरेको छ । म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।
म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । राष्ट्रपति बाइडनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी समेत दिएका हुन् ।
कूबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक बस्दै
अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गरेका छन्। म्यानमारको सेनाले गरेको कूबारे छलफल गर्न अमेरिकी सुरक्षा परिषद्को बैठक बस्दैछ ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको बीबीसीले उल्लेख गरेको छ । युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।