काठमाडौं, २० माघ । वसन्त लोहनी भन्नासाथ देशमा उनको परिचय पत्रकार भन्ने छ । पञ्चायत निरंकुश व्यवस्थाविरुद्ध पत्रकारिता गर्न त्यति सजिलो थिएन । तर, पनि लोहनीले त्यतिबेला परिस्थिति साप्ताहिकको प्रकाशन गरे । बहुदलीय व्यवस्थाको समर्थनमा आफ्नो प्रकाशनलाई समर्पण गरे । त्यो एउटा उनको ‘मिसन’ पत्रकारिता थियो । देशमा बहुदलीय व्यवस्था स्थापना भइसकेपछि सुशासनलाई केन्द्रविन्दु बनाएर उनले विभिन्न पत्रपत्रिकामा लेखहरु लेखे । ठूला ठूला भ्रष्टाचारका काण्डलाई छताछुल्ल पारे । अहिले पत्रकारितामा उनी कहीँकतै मात्र भेटिन्छन् । स्वभावले उनी साहित्यकार जस्तो होइन, व्यवहारले उनी साहित्यकार हुन् भन्ने प्रमाणित गरेको छ ।
उनी कहिले उद्योगपति बने, कहिले विश्वविद्यालयको शिक्षक बने, कहिले सम्पादक बने, अर्थराजनीतिक विश्लेषक बने । अनि लेखक । तर कविता स्फूर्त निःसृत भयो । यसको लागि उनले कवि बन्नु परेन । सन् १९७२ बाट लेखन यात्रा सुरु भयो वसन्त लोहनीको, अंग्रेजी पत्रिकाहरू ‘दि कमनर’ र ‘दि मदरल्याण्ड’बाट । तर कविताको यात्रा लेख्न जान्ने भएदेखि नै आरम्भ भयो । कारण थियो उनी सधैँ तरंग बोकेर बाँचेका थिए । यही तरंग नै उनको एकल संवाद बन्यो– मनभित्रका हरेक हलचलबारे आफैसँग कुरा गर्ने । यसबारे विनोद सिजापतीले स्कुलमा छँदा जे देखे त्यो यसरी वर्णन गर्छन्– ‘बसमा होस् कि चौरमा, वसन्तको विलक्षण गुण थियो बिना कागत कलम समाएर उसले त्यहाँको अवस्थालाई कविताको विषय बनाएर कविता वाचन गर्न सक्ने । मुखैबाट रचना गर्न सक्ने अभूतपूर्व सामथ्र्य थियो ।’
हराएका कविताहरू जम्मा भएर बनेको छ यो कविता संकलन ‘कसैको यहाँ मृत्यु भएको छ’ । उनन्चास कविताहरूले सुन्दर समग्रता बोकेका छन् एउटा फराकिलो क्यानभासमा । त्यो समग्रतामा जीवन छ, प्रेम छ, समाज छ, आगो छ, अनि बालकको जस्तो निश्चलता छ, जसलाई जतन गरेर सुमसुम्याउनुपर्ने हुन्छ । उनको यो ई–कविता हो ।