नेकपा सरकारले प्रधानमन्त्री रोजगार योजना अन्तरगत केही विशेष अवस्थामा रहेका वेरोजगार युवाहरुलाई निर्वाह भत्ताको नाममा वेरोजगार भत्ता दिने घोषणा गरेको छ ।
विकसित देशमा यस्तो वेरोजगार भत्ता वा युवाहरुलाई दिइने निर्वाह भत्ता लिनुलाई त्यहाँका युवाहरुले अपमान सम्झने गर्दछन् । नेपाली युवाहरु विश्वभर वहादुर योद्धा भनेर चिनिन्छन् । नेपाली युवाहरुले सडकका भिखारी सरह सरकार संग निर्वाह भत्ताको भीख मागेका होइनन् । उनीहरु काम गरेर खान चाहन्छन् । सरकारले रोजगारी तीब्र गतिमा श्रृजना गरोस् भन्ने चाहन्छन् । तर सरकारले उनीहरुलाई रोजगारी श्रृजना गर्ने तर्फ नीति र योजना वनाउने तिर नलागी युवाहरुलाई वेरोजगार भत्ता दिने झ्याली पिटेर अपमान गर्ने वाटोमा लागेकोछ ।
बृद्ध भत्ता र वेरोजगार भत्ता एउटै होइन । बृद्ध भत्ता भनेको जीवनभर दुःख गरिसकेका हाम्रा आदरणीय जेष्ठ नागरिकलाई राज्यले दिनु पर्ने सेवा हो । जेष्ठ नागरिकले अवकासको बृद्ध जीवनअवधीमा राज्यवाट पाउनु पर्ने अधिकार बृद्ध भत्ता हो । तर वेरोजगार युवाहरुलाई राज्यले वर्षको करीव २२ हजार ४ सय १७ रुपैयाँ (महिनाको १८६८ रुपैयाँ) दिने भन्नु काम गर्न चाहने युवाहरुलाई काम नदिएर भीख दिने अपमानजनक नीति हो ।
यो वेरोजगार भत्ता परिवारका कुनै पनि सदश्यले कुनैपनि खालका रोजगारी नपाएको वेला मात्र दिने भनिएको छ । परिवारका कुनैपनि सदश्य स्वरोजगार भएपनि यो भत्ता नपाउने भनिएकोछ । परिवारका सदश्यले सय दिन मात्रै रोजगारी पाएपनि सो परिवारलाई रोजगारी पाएको परिवारमा गणना गरेर वेरोजगारी भत्ता नदिने भनिएकोछ । यस हिसावले वेरोजगार भत्ता पाउने वास्तविक नेपाली युवाहरु ज्यादै थोरै मात्र हुनेछ । किनभने नेपालमा परम्परागत निर्वाहमुखी स्वरोजगारी वा कुनै एक सदश्य सय दिन पनि कुनै रोजगारीमा नभएको परिवार धेरै कम छ । शायद १० हजार पनि यस्तो परिवार नहोला । बृद्ध भत्ता पाँच सय वढाउन पनि नचाहने महाकन्जुस अर्थमन्त्री र प्रधानमन्त्रीले वेरोजगार भत्ताको हल्लाखल्ला गर्नुको रहस्य दश हजार युवाहरुलाइ महिनाको अठार सय अठसाठि रुपैयाँ दिए पुग्ने भएर हो । जबकि बृद्ध भत्ता नै महिनाको दुई हजार छ ।
नेपालको वेरोजगारी समस्या भनेको मुख्यत परिवारमा एक जनाले पनि स्वरोजगार(जस्तै कृषि पशुपालन, सानोतिनो व्यापार आदि) नभएर वा परिवारका एक सदश्यले पनि सय दिनको रोजगारी समेत नपाएर भएको समस्या होइन । यो अर्थशास्त्रको सामान्य विद्यार्थीलाई पनि थाहा भएको विषय हो । नेपालको वेरोजगारी समस्या भनेको परिवारका काम गर्न सक्ने सबैले रोजगारी नपाउनु हो । जस्तै परिवारका पुरुष एक जनाले काम पाएपनि अरु काम गर्न सक्ने चार पाँच जनाले काम नपाउनु नेपालको गम्भीर समस्या हो । वर्षमा सय दिन काम पाउँदैमा नेपालीले पेट पाल्न नसक्नु गम्भीर समस्या हो । खेतीमा वर्षमा ३ महिना काम हुने र अरुवेला वेरोजगार रहनु पर्ने वेरोजगारी नेपालको गम्भीर समस्या हो । आफ्नो क्षमता अनुसार काम नपाउने वेरोजगारी नेपालको समस्या हो । तर सरकारले सय दिन काम पाएका र परिवारमा एक जनाले काम पाए पनि त्यसलाई रोजगार पाएको परिवार भनेर जसरी वेइमानीपूर्ण वर्गीकरण गरेकोछ, यसले नेपालको वेरोजगारी समस्यालाई लुकाउने ढोंगी पाखण्डी सरकारी प्रयासलाई उजागर गरेकोछ ।
युवाहरुले सरकार संग वेरोजगार भत्ताको भीख मागेका होइनन् । सरकारले ढोंगी र पाखण्डी कुराहरु गर्नु भन्दा पनि रोजगारी श्रृजना गर्ने ओद्योगिक क्रान्तिको योजना र नीति वनाएर घोषणा गर्ने र कार्यान्वयन गर्ने तर्फ लाग्नु पर्दथ्यो । तर उद्योगीहरु चर्को ब्याजदर र सरकारको गलत नीतिहरुको विरोध गर्र्दै आन्दोलनमा छन् । सरकारले दलाल पूँजीवाद तथा नोकरशाही पू्ँजीवादको पक्षपोषन गरेर औद्यागिक पूँजीवादलाई दूरुत्साहन गरिरहेकोले वेरोजगारी समस्या आगामी दिनमा झन् चर्कनेछ ।
विदेशमा गएर काम गर्न जान चाहने युवाहरुलाई समेत पनि सरकारले मलेशिया अहिले सम्म नखोलेर जनघाती काम गरिरहेकोवेला आएको प्रधानमन्त्री रोजगार योजना केवल जनता ढाँट्ने नारा मात्रै हुनेछ । यो योजनाको सार भनेको अरुले वनाएको रोजगारी सरकारले आफ्नो हातमा केन्द्रित गरेर वितरण गरेको देखाउने मात्रै हो, रोजगारी विस्तारको ठोस योजना यसमा छैन ।
रवीन्द्र श्रेष्ठ