Logo
Logo

आयोडिनको महत्व बुझाउन एक महिने अभियान चलाउँदै साल्ट ट्रेडिङ


- दृष्टि संवाददाता

441
Shares

काठमाडौं, २० माघ । आयोडिनको महत्व बुझाउन साल्ट ट्रेडिङले एकमहिने जनचेतना जगाउन अभियान सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने भएको हो ।

सन् २०२१ फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरूसम्बन्धी जनचेतना जगाउने महिनाका रूपमा सरकारले फेब्रुअरी महिनाभर विभिन्न कार्यक्रम गर्दै छ । साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार युनिभर्सल साल्ट आयोडाइजेसन (युएसआई) को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको हो ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरूमध्ये भिजिबल गोइटर सन् १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र हाल समुदायमा यो समस्या नभेटिएको साल्ट ट्रेडिङको भनाई छ ।

कर्पोरेसनले नेपाल सरकारले दिएको निर्देशनअनुसार आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्षअनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएको छ । सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्भेअनुसार ९१.० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको कर्पोरेसनको दाबी छ ।

सन् २०१६ मा नेपाल सरकारले गरेको एनडिएचएस सर्भेअनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको उल्लेख छ । कोभिड–१९ का कारण यो बर्ष नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकाले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै एक महिनासम्म आयोजना गरिने कर्पोरेसनले जनाएको छ ।

नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरूका साथै विद्यालय, समुदाय एवं गैरसरकारी संघ–संस्था, स्थानीय निकायलगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दूरी कायम गरी कार्यक्रम सञ्चालन गर्ने कर्पोरेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्